काठमाडौं । उर्जा मन्त्रालयले रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि प्रयासरत रहेको जनाएको छ । आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले विनाशकारी बाढीका कारण विद्युत् संरचनामा ठूलो क्षति पुगेको रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि प्रयास तीव्र पारिएको जनाएको हो।
मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउन नुवाकोट–रसुवा विद्युत् अन्तरसम्बन्ध कायम गर्ने काम अघि बढाइएको छ। भौगोलिक विकटता, क्षतिग्रस्त पूर्वाधार र प्रतिकूल मौसमका बीच प्राविधिक टोलीले आवश्यक संरचना निर्माण तथा विद्युत् लाइन जडानको कामलाई निरन्तरता दिइरहेको छ।
बाढीले क्षति पुर्याएका संरचनाको अवस्थाबारे प्राविधिक मूल्याङ्कन गर्दै मर्मत तथा पुनर्निर्माणको काम पनि सँगसँगै अघि बढाइएको छ।
यससँगै प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा सञ्चालन सहज बनाउन वैकल्पिक व्यवस्थामार्फत विद्युत् पहुँच विस्तार गर्ने प्रयास भइरहेको छ। विद्युत् आपूर्ति पुनःस्थापना नहुँदासम्म प्रभावित नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउन सम्बन्धित निकायले विभिन्न विकल्पमा काम गरिरहेका छन्।
यसैबीच, रसुवाको खोलापारिको क्षेत्रबाट पानी ल्याउने काम समेत भइरहेको मन्त्रालयले उल्लेख गरेको छ। उक्त व्यवस्थाबाट प्रभावित बस्तीमा खानेपानी तथा दैनिक जीवनका आधारभूत आवश्यकता पूरा गर्न केही सहज हुने मन्त्रालयको अपेक्षा छ।
बाढीपछि अवरुद्ध भएका विद्युत् तथा अन्य अत्यावश्यक पूर्वाधारलाई सकेसम्म छिटो सञ्चालनमा ल्याउने उद्देश्यले प्राविधिक तथा सम्बन्धित निकायका टोलीहरू चुनौतीपूर्ण अवस्थामा समेत फिल्डमै परिचालित गरिएको । विद्युत् आपूर्ति पुनःस्थापनालाई प्राथमिकतामा राख्दै नुवाकोट–रसुवा विद्युत् अन्तरसम्बन्धको कामलाई तीव्रता दिइएको मन्त्रालयको भनाइ छ।