काठमाडौँ । नेपाल–तिब्बत सीमामा आएको भीषण बाढीबाट प्रभावित परिवारका लागि सद्गुरुले एक करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सद्गुरुको नेपालस्थित संस्था ईशा नेपालमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरिने भएको हो।
बाढीका कारण ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति समभाव र ऐक्यबद्धता व्यक्त गर्न पुल्चोकस्थित द प्लाजामा सद्गुरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा अभिनेत्री मनिषा कोइराला, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोल, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायत विशिष्ट अतिथि सहभागी भएका थिए। कार्यक्रममा करिब ३ हजारभन्दा बढीको उपस्थिति रहेको थियो।

कार्यक्रममा सद्गुरुले बाढीबाट उत्पन्न विपत्तिका लागि नेपाल सरकारलाई मात्र दोष दिन नहुने बताएका थिए। जलवायु परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक विपत्तिको सामना गर्न विश्व समुदायले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिएका थिए।
नेपाल र छिमेकी राष्ट्रहरू एकजुट भएर हिमाली क्षेत्रको उचित व्यवस्थापनतर्फ अघि बढ्नुपर्ने उनले बताएका थिए। विपद्पछि तत्कालै अव्यवस्थित रूपमा पुनर्निर्माण गर्नुभन्दा विज्ञहरूको टोली बनाएर वैज्ञानिक र दीर्घकालीन योजनाका आधारमा पुनर्स्थापना गर्नुपर्ने सुझाव उनले दिएका थिए। यसबाट भविष्यमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो।

कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले नेपालले पटक–पटक विभिन्न प्राकृतिक विपद्को सामना गर्नुपरेकोमा दुःख व्यक्त गरेकी थिइन्। जलवायु परिवर्तनजस्तो चुनौतीपूर्ण समस्याको समाधानका लागि नेपाल, भारत र चीन एकजुट भएर अघि बढ्नुपर्ने उनले बताएकी थिइन्।
सद्गुरुले बाढीपीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुका साथै अन्य आवश्यक सहयोग गर्न पनि आफूहरू तत्पर रहेको बताएका थिए।
