• २०८३ भदौ १५
  • 2026 August 31, Monday

के एल दुगड ग्रुपद्वारा रसुवा र नुवाकोट क्षेत्रका बाढी प्रभावित परिवारलाई खाद्यान्न सामग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई के एल दुगड ग्रुपले खाद्यान्न सामग्री सहयोग गरेको छ । के एल दुगड ग्रुपले पहिलो चरणमा तत्काल रसुवा र नुवाकोटका बाढीबाट प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री राहत विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरेको जनाएको छ । उक्त सामग्री जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

राहत सामग्रीमा प्रभावित परिवारका लागि तत्काल आवश्यक चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल , बिस्कुट, चिउरा, विभिन्न मसला लगायत दैनिक उपभोगका अत्यावश्यक खाद्य सामग्री समावेश गरिएको थियो । विपद्का कारण दैनिक जीवनयापनसमेत प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक खाद्य सामग्री उपलब्ध गराई कठिन समयमा केही राहत पुर्‍याउने उद्देश्यले ग्रुपले उक्त सहयोग गरेको हो । विपद्ले सिर्जना गरेको कठिन परिस्थितिमा खाद्यान्नजस्ता आधारभूत आवश्यकतासमेत प्रभावित परिवारका लागि चुनौतीपूर्ण बनेको अवस्थामा उनीहरूको दैनिकीमा केही सहजता ल्याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको के एल दुगड ग्रुपले जनाएको छ ।

वर्षा र बाढीका कारण सडक सञ्जालमा पुगेको क्षति र बाटोको समस्याले गर्दा, ग्रुपले थप राहत सामग्रीहरू चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्‍याउने जनाएको छ । संकटको समयमा प्रभावित परिवारसँगै उभिँदै मानवीय सहयोग प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको एक हिस्सा रहेको पनि ग्रुपले बताएको छ ।

दु:ख र पीडाको यस कठिन घडीमा प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै के एल दुगड ग्रुपले यस्तो सहयोग तथा मानवीय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

सन् १९८९ मा स्थापित के एल दुगड ग्रुप नेपालको एक प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना र कम्पनीहरूको समूह हो। यस ग्रुपले मुख्यतया खाद्य सामग्री, खाने तेल, सिमेन्ट र इलेक्ट्रोनिक्स उत्पादनहरूको उत्पादन तथा बजारीकरण गर्दै आइरहेको छ।

ग्रुप अन्तर्गत बजारमा ज्ञान, स्वास्तिक, सनफ्लो, धारा, धारा हेल्थ, मेजान, हिमालय कफी, चोकोलाटी, युनाइटेड सिमेन्ट्स, स्काइवर्थ, औरा, र लिभप्योर लगायतका प्रख्यात तथा लोकप्रिय ब्रान्डहरू रहेका छन्।