• २०८३ भदौ १८
  • 2026 September 03, Thursday

डेपुटी गभर्नर रावलले गरे सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको छ। विवरणमा रावल तथा उनका परिवारका सदस्यको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सुनचाँदी, शेयर, सवारीसाधन, बीमा तथा कर्जासम्बन्धी विवरण समेटिएको छ।

रावललाई सरकारले भदौ ३ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डेपुटी गभर्नरमा नियुक्त गरेको थियो।

सम्पत्ति विवरणअनुसार रावलकी श्रीमतीको नाममा भक्तपुरको मध्यपुर थिमी-२, दिव्यश्वरी प्लानिङमा १९१ वर्गमिटर क्षेत्रफलमा बनेको घर छ। उक्त घरको मूल्य १ करोड ८० लाख रुपैयाँ उल्लेख गरिएको छ। घर बैंक ऋण, स्वआर्जन तथा पुरानो घरजग्गा बिक्रीबाट प्राप्त रकमबाट खरिद गरिएको विवरणमा जनाइएको छ।

रावलकी आमाको नाममा कैलालीको टीकापुर र अछामको बान्नीगढी जयगढमा पैतृक घर रहेका छन्। आमाको नाममा टीकापुरमा २ बिघा १ कठ्ठा तथा बान्नीगढी जयगढमा करिब ४५ रोपनी जग्गा रहेको विवरणमा उल्लेख छ। रावलको नाममा कैलालीमा १ कठ्ठा जग्गा छ।

धनगढीमा परिवारका सदस्यहरूको नाममा ३३८.६३ वर्गमिटर क्षेत्रफलका दुई कित्ता जग्गा रहेका छन्। तीमध्ये श्रीमतीको नाममा रहेको जग्गा करिब ६ लाख रुपैयाँमा र आमाको नाममा रहेको जग्गा १० लाख रुपैयाँ मूल्यमा खरिद गरिएको उल्लेख छ।

रावलका विभिन्न वाणिज्य बैंकमा गरी ११ लाख ४९ हजार २१४ रुपैयाँ मौज्दात रहेको छ। त्यस्तै, उनका खातामा १४ हजार अमेरिकी डलर रहेको विवरणमा उल्लेख छ।

रावलले उक्त रकम पारिश्रमिक तथा वैदेशिक तालिम र भ्रमणबाट प्राप्त आम्दानीबाट बचत भएको बताएका छन्। श्रीमतीको नाममा घरभाडाबाट प्राप्त ३ लाख ८४ हजार ९२७ रुपैयाँ बैंक मौज्दात रहेको छ। रावलसँग ४० हजार रुपैयाँ नगद पनि रहेको छ।

सम्पत्ति विवरणमा रावल परिवारसँग २५ तोला सुन र २ किलो चाँदी रहेको उल्लेख छ। यीमध्ये केही पैतृक र केही स्वआर्जनबाट प्राप्त भएको जनाइएको छ।

परिवारसँग करिब १ लाख रुपैयाँ मूल्यको हिराको औँठी समेत रहेको विवरणमा उल्लेख छ।

रावलको व्यक्तिगत नाममा बैंक तथा वित्तीय संस्थाका ७७० कित्ता साधारण शेयर छन्।

श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्थाका २७ हजार ५६७ कित्ता, बीमा कम्पनीका १३० कित्ता, जलविद्युत् कम्पनीका २ हजार ३७९ कित्ता र डिस्टिलरी कम्पनीका १ हजार कित्ता शेयर रहेको छ। यसबाहेक छोराछोरीका नाममा पनि बैंक तथा जलविद्युत् कम्पनीका साधारण शेयर रहेको विवरणमा जनाइएको छ।

रावलले राष्ट्र बैंक कर्मचारी विनियमावलीअनुसार आफूले ५० लाख रुपैयाँसम्म कर्जा तथा सापटी सुविधा लिन सक्ने व्यवस्था रहेको र सो सुविधाअन्तर्गत कर्जा सीमा उपयोग गरेको उल्लेख गरेका छन्।