• २०८३ भदौ १७
  • 2026 September 02, Wednesday

भोटेकोशी बाढी बारे चिनियाँ अनुसन्धानकर्ताको अध्ययन : यस्तो छ निष्कर्ष

काठमाडौं । भदौ १० गते नेपालमा भएको विनाशकारी हिमपहिरो तथा बाढीपहिरो तीव्र रूपमा फैलिनुको कारणबारे चिनियाँ अनुसन्धानकर्ताले नयाँ तथ्य सार्वजनिक गरेका छन् ।

चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत तिब्बती पठार अनुसन्धान संस्थानको नेतृत्वमा गरिएको अध्ययनले विपद्को मुख्य कारण तत्कालको भारी वर्षा नभएको देखाएको छ । अध्ययन मंगलबार ‘चिनियाँ विज्ञान बुलेटिन’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित भएको छ ।

अनुसन्धानअनुसार विपद् हुनुअघि स्रोत क्षेत्रमा लामो समयसम्म हिमनदी तीव्र गतिमा सर्दै गएको प्रतिवेदनमा उल्लेख छ । वसन्त र गर्मीयाममा सामान्यभन्दा बढी तापक्रम रहेकाले हिमपग्लिने क्रम बढ्नु र उच्च क्षेत्रमा जमेको माटो कमजोर हुँदै जानुले बरफ र चट्टानबीचको सतहको स्थिरता कमजोर बनाएको हुन सक्ने अध्ययनले देखाएको छ । यद्यपि विपद् सुरु गराउने तत्कालीन एकमात्र कारण भने अझै निश्चित हुन सकेको छैन ।

अध्ययनको अर्को महत्वपूर्ण निष्कर्ष प्रारम्भिक हिमपहिरोभन्दा त्यसपछि बाटोमा थप सामग्री मिसिँदै जानु विपद्को विनाशकारी शक्ति बढाउने प्रमुख कारण बनेको उल्लेख छ । करिब २२ किलोमिटर लामो खोँच हुँदै बरफ र चट्टान बग्ने क्रममा नदीको सतह तथा आसपासका भिरबाट थप माटो, ढुंगा र अन्य सामग्री मिसिँदै गएपछि सामान्य हिमपहिरो विशाल बाढीपहिरोमा परिणत भएको अनुसन्धानकर्ताले बताएका छन् ।

भूकम्प मापन केन्द्रबाट प्राप्त विवरणमा मुख्य घटना हुनुभन्दा केही घण्टाअघि स्रोत क्षेत्रमा असामान्य कम्पनका संकेतसमेत देखिएको थियो । ती संकेत त्यहाँ देखिएका साना हिम तथा बरफ खस्ने घटनासँग मिल्दोजुल्दो रहेको पाइएको छ । यसले ठूलो विपद्अघि साना चरणमा हिम तथा चट्टान सर्ने प्रक्रिया भएको हुन सक्ने देखाएको छ ।

अनुसन्धानकर्ताले जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा यस्ता विपद्को जोखिम बढिरहेको भन्दै जोखिम मूल्यांकन गर्दा पहाडबाट कति सामग्री खस्छ भन्ने मात्र नभई बाटोमा थप कति सामग्री मिसिन सक्छ र त्यसको प्रभावमा कति जनसंख्या तथा महत्वपूर्ण संरचना पर्न सक्छ भन्ने विषयलाई समेत समेट्नुपर्ने बताएका छन् ।

चिनियाँ विज्ञान प्रतिष्ठान, युनान विश्वविद्यालय, हङकङ चिनियाँ विश्वविद्यालय, वुहान विश्वविद्यालयलगायत संस्थाको संयुक्त अध्ययनले हिमाली क्षेत्रमा सीमापार विपद् निगरानी, पूर्वसूचना, जोखिम मूल्यांकन तथा उद्धार र पुनःस्थापनाका लागि महत्वपूर्ण वैज्ञानिक आधार प्रदान गर्ने जनाइएको छ ।