काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले पछिल्लो अवस्थाबारे जानकारी दिएका छन् ।
उनका अनुसार १६० मिटर लामो केबल डक्ट सुरुङको मुख क्षेत्रको निकासमा रहेका दुई दर्जनभन्दा बढी ठूला ढुंगा विस्फोट गरी हटाइएको छ । भदौ १३ गतेदेखि चारमध्ये नियमित रूपमा दुई वटा डोजर परिचालन गरी पाँच दिनमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा घरको आकारसम्मका ठूला ढुंगा पन्छाइएको छ ।
उद्धारका क्रममा आवश्यकताअनुसार ढुंगा फुटाउने उपकरण प्रयोग गर्नुका साथै विस्फोटक पदार्थबाट नियन्त्रित रूपमा विस्फोट गराउने काम चौबीसै घण्टा भइरहेको सांसद न्यौपानेले बताएका छन् ।
हाल सुरुङको मुखको माथिल्लो भागदेखि करिब २.५ मिटर तलसम्मको करिब ५० मिटर लामो भाग सफा गरिएको छ । ५.५ मिटर अग्लो सुरुङमा बाँकी करिब ३ मिटर गहिराइको पहुँचमार्ग तथा पानी निकास निर्माण सम्पन्न भएपछि मात्र सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम सुरु गरिने जनाइएको छ ।
सुरुङभित्र गरिएको प्रारम्भिक अवलोकनमा आँखाले देख्न सकिने करिब एक मिटरभित्रको भाग पूरै लेदोले भरिएको देखिएको छ । अहिले सुरुङबाट करिब दुई लिटर प्रतिसेकेन्डको दरले दबाबबिनै पानी बाहिर निस्किरहेको छ। यसले सुरुङभित्र पानी जमेको अवस्था नरहेको संकेत गरेको सांसद न्यौपानेले बताएका छन् ।
सुरुङको बाहिरी भागमा ढोकाको स्ल्याब, काठका दुई ठूला ठुटा तथा ठूला ढुंगाले अवरोध गरेको पाइएको छ । यस अवस्थाका आधारमा सुरुङभित्र पानी र लेदोबाहेक ठूला ढुंगा प्रवेश नगरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
सुरुङभित्रको वास्तविक अवस्था भने अझै यकिन भइसकेको छैन । १६० मिटर लामो सुरुङमध्ये करिब ६० मिटरमा एउटा घुम्ती रहेको तथा विद्युत् गृहसम्म सुरुङ उकालो दिशामा रहेकाले भित्री भाग सुरक्षित र सामान्य अवस्थामा रहेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
घटनास्थलसम्म सडक पहुँच नभई हेलिकप्टरबाट मात्र पुग्न सकिने अवस्था रहेकाले मेसिन तथा उपकरण मर्मतका लागि आवश्यक सामग्री ढुवानीमा केही समय लाग्ने अवस्था रहेको सांसद न्यौपानेले बताएका छन् । यद्यपि उद्धार तथा सफाइको सम्पूर्ण काम निरन्तर सञ्चालन भइरहेको उनले जानकारी दिएका छन् ।