• २०८३ भदौ १८
  • 2026 September 03, Thursday

बाढी पीडितका लागि रिद्धि सिद्धि र सौर्य सिमेन्टद्वारा १ करोड १ लाख सहयोग

काठमाडौँ । भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत र पुनर्स्थापनाका लागि रिद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले संयुक्त रूपमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

रिद्धि सिद्धि र सौर्य सिमेन्ट परिवारले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गरेका हुन्। कुल सहयोग रकममध्ये रिद्धि सिद्धि सिमेन्टले ५१ लाख र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ योगदान गरेका छन्।

रिद्धि सिद्धि सिमेन्टका अध्यक्ष शोभाकार न्यौपानेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो बराबरको चेक हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै दुवै कम्पनीले बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

कम्पनीले बाढी प्रभावितलाई राहत, पुनर्स्थापना र पुनर्निर्माण गर्नु सबैको साझा दायित्व र जिम्मेवारी भएको महसुस गर्दै यो सहयोग उपलब्ध गराएको जनाएको छ। साथै, विषम परिस्थितिमा अहोरात्र खटिएका उद्धारकर्मी, राहतकर्मी, सुरक्षाकर्मी, प्रशासन र स्वास्थ्यकर्मी लगायत सम्पूर्ण सहयोगी हातहरूप्रति कम्पनीले विशेष सम्मान र आभार प्रकट गरेको छ।