काठमाडौं । हालैको विनाशकारी बाढीबाट प्रभावित भएका व्यक्ति र समुदायको राहत तथा पुनर्स्थापनाका लागि एफवानसफ्ट ग्रुपले ठूलो आर्थिक सहयोग पुर्याएको छ ।
एफवानसफ्ट ग्रुप अन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, र ईसेवा मनि ट्रान्स्फरका कर्मचारी तथा कम्पनीको संयुक्त पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ । कम्पनीले विपद्को यो कठिन समयमा प्रभावितहरूको घाउमा मलम लगाउन र पुनर्स्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले यो रकम प्रदान गरेको जनाएको छ ।
कम्पनीको संस्थागत सहयोगका अतिरिक्त यसका डिजिटल प्लेटफर्म प्रयोग गर्ने लाखौं प्रयोगकर्ताहरूले पनि ठूलो परिमाणमा आर्थिक सहयोग गरेका छन् । प्राप्त जानकारी अनुसार, इसेवाका १ लाख २९ हजार १३ जना प्रयोगकर्ताले कुल ९ करोड ७० लाख रुपैयाँ सहयोग गरेका छन् ।
त्यसैगरी, फोनपेमार्फत ८ लाख ६२ हजार ४ सय ४५ प्रयोगकर्ताले कुल २ अर्ब १९ करोड रुपैयाँ सहयोग पुर्याएका छन् । फोनपेमार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदान समेत समावेश छ, जसमा भारतबाट एनपीसीआई-इन्टिग्रेटेड पेमेन्टमार्फत १९ हजार ८ सय ५८ प्रयोगकर्ताले ४ करोड २२ लाख र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९ सय ६५ प्रयोगकर्ताले १ करोड ६३ लाख रुपैयाँ सहयोग गरेका छन् ।
एफवानसफ्ट ग्रुपले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै प्रभावित क्षेत्रमा अहोरात्र खटिएका सुरक्षाकर्मी, सरकारी निकाय, स्वयंसेवक र विभिन्न संघसंस्थाहूप्रति आभार व्यक्त गरेको छ ।
सहयोग गर्ने सबै प्रयोगकर्ताहरूलाई धन्यवाद दिँदै कम्पनीले भनेको छ, “यस कठिन समयमा सबैमा साहस र धैर्य मिलोस् भन्ने कामना गर्दछौँ । हामी आवश्यक परेको समयमा सधैँ नेपाली नागरिकको साथमा उभिन प्रतिबद्ध छौँ ।”