• २०८३ भदौ १९
  • 2026 September 04, Friday

नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले स्थापना गरिन् अमेरिकी क्लिनिकल प्रविधि कम्पनी ‘काइरोसहेलिक्स’

अमेरिकामा आधारित क्लिनिकल प्रविधि कम्पनीद्वारा आर्टिफिसियल इन्टेलिजेन्स, गणित तथा प्रमाणमा आधारित प्रणालीको संयोजनमार्फत जीवन विज्ञान क्षेत्रमा क्लिनिकल ट्रायलबाट प्राप्त ज्ञानलाई संकलन, एकीकृत र पुनःप्रयोग गर्न सहयोग गर्ने प्रविधिको विकास

काठमाडाैं । नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा आधारित क्लिनिकल प्रविधि कम्पनी ‘काइरोसहेलिक्स’ (KairosHelix) स्थापना गरेकी छन्।

कम्पनीले जीवन विज्ञान क्षेत्रमा क्लिनिकल ट्रायलबाट सिर्जना हुने ज्ञानलाई कसरी संकलन, एकीकृत र प्रयोग गर्ने भन्ने प्रक्रियालाई रूपान्तरण गर्ने उद्देश्य राखेको छ।

क्लिनिकल ट्रायलका क्रममा प्रोटोकल, प्रतिवेदन, सञ्चालनसम्बन्धी तथ्यांक तथा विशेषज्ञका निर्णयलगायत ठूलो मात्रामा सूचना सिर्जना हुन्छन्। तर, यस्तो ज्ञान विभिन्न प्रणालीमा विभाजित भएर रहने भएकाले विगतका ट्रायलबाट सिकेको ज्ञानलाई भविष्यका अनुसन्धानमा प्रभावकारी रूपमा प्रयोग गर्न चुनौती हुने गरेको कम्पनीको भनाइ छ।

यही चुनौती समाधान गर्ने उद्देश्यले काइरोसहेलिक्सले विभिन्न क्लिनिकल ट्रायलबाट संचित ज्ञानलाई प्रयोगयोग्य बौद्धिक सूचनामा रूपान्तरण गर्ने प्रणाली विकास गरिरहेको छ। कम्पनीले नियमनको दायरामा रहेका तथा उच्च जोखिमयुक्त क्लिनिकल अनुसन्धानमा मूल प्रमाणको संरक्षण र मानव निगरानीलाई विशेष प्राथमिकता दिएको जनाएको छ।

कम्पनीका अनुसार हालसम्म २५ सदस्यीय टोली गठन भइसकेको छ। काइरोसहेलिक्सले क्लिनिकल ट्रायल इन्टेलिजेन्ससम्बन्धी कार्यशील प्लेटफर्मसमेत विकास गरिसकेको छ भने Contract Research Organizations (CROs) तथा जैवप्रविधि कम्पनीसँग व्यावसायिक सहकार्य सुरु गरेको छ।

कम्पनीले क्लिनिकल ट्रायल योजना, अनुसन्धान केन्द्र सिफारिस, सिन्थेटिक डेटा तथा नियमनयुक्त एआईलगायतका क्षेत्रमा ११ वटा ‘प्रोभिजनल पेटेन्ट एप्लिकेसन’ दर्ता गरिसकेको जनाएको छ।

अधिकारीको गणित, इन्जिनियरिङ, उद्यम प्रविधि तथा क्लिनिकल अनुसन्धान क्षेत्रको अनुभवबाट कम्पनीको अवधारणा विकास भएको हो। १६ वर्षको उमेरमा नेपालबाट अमेरिका पुगेकी अधिकारीले गणित र प्रविधिप्रतिको रुचिलाई निरन्तर अघि बढाउँदै विभिन्न क्षेत्रमा काम गरेकी थिइन्।

सन् २०२४ मा प्रविधि तथा एआई क्षेत्रमा गरेको कामका लागि अधिकारीलाई PharmaVOICE 100 मा समेत सम्मानित गरिएको थियो।

क्लिनिकल अनुसन्धानमा काम गर्ने क्रममा अधिकारीले क्लिनिकल ट्रायलले ‘के भयो’ भन्ने विषयलाई व्यवस्थित रूपमा अभिलेख गर्ने भए पनि महत्वपूर्ण निर्णय ‘किन गरियो’ भन्ने पछाडिको ज्ञान, तर्क र निर्णय प्रक्रियालाई भविष्यमा पुनःप्रयोग गर्न सकिने गरी व्यवस्थित रूपमा अभिलेखित गर्ने प्रणालीको अभाव रहेको पहिचान गरेकी थिइन्।

काइरोसहेलिक्सले यही अन्तरलाई सम्बोधन गर्दै विभिन्न अध्ययन तथा क्लिनिकल ट्रायलबाट संचित ज्ञानलाई सुरक्षित राख्ने, आपसमा जोड्ने र त्यसबाट सिक्न सकिने प्रणाली विकास गरिरहेको छ।

कम्पनीले विगतका क्लिनिकल ट्रायलबाट प्राप्त ज्ञानलाई भविष्यका अनुसन्धानमा व्यवस्थित रूपमा प्रयोग गर्न सकिने बनाउँदै जीवन विज्ञान क्षेत्रलाई थप ज्ञानमा आधारित अनुसन्धान प्रणालीतर्फ अघि बढाउने लक्ष्य लिएको जनाएको छ।