• २०८३ भदौ १९
  • 2026 September 04, Friday

पहिरोले दार्चुलाको चौलानी नदी आंशिक थुनियो, उच्च सतर्कता अपनाउन आग्रह

धनगढी । दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टार बस्ती नजिकै ठूलो पहिरो जाँदा चौलानी नदी आंशिक रूपमा थुनिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार पहिरो खस्ने क्रम जारी रहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने जोखिम रहेको छ। नदी थुनिएर बनेको जलाशय फुटेमा बैतडी–दार्चुला सीमाबाट बग्ने चमेलिया (चौलानी) नदीमा एक्कासि पानीको सतह बढ्न सक्ने जनाएको छ ।

नदीको बहाव अचानक बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै चौलानी नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रशासनले वर्षाको समयमा नदी किनारमा नजान तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरेको छ।