• २०८३ भदौ १९
  • 2026 September 04, Friday

एसियाली खेलकुदका खेलाडीको विदाइ, विमानस्थलमा भीआईपी सुविधा

काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ। टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित राखेपका पदाधिकारीले शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाइ गरे ।

शिक्षामन्त्री पोखरेलको विषेश पहलमा एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीहरूले पहिलोपटक ‘भीआईपी’ पहुँचको सुविधा प्राप्त गर्ने अवसर पाएका छन्।

“खेलाडीप्रतिको सम्मानको सानो प्रयासस्वरूप पहिलोपटक विमानस्थलमा ‘भीआईपी’ पहुँचको सुविधा उपलब्ध गराउन पाउँदा खुसी छौँ। सम्पूर्ण खेलाडीलाई हार्दिक शुभकामना”, मन्त्री पोखरेलले फेशबुकमा लेखेका छन् ।

शिक्षामन्त्री पोखरेलका अनुसार राष्ट्रिय खेलाडीहरूको सम्मान र प्रोत्साहनस्वरूप गरिएको यस पहलले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले भिआइपी कक्षको प्रयोगको व्यवस्था गरिएको हो ।

मन्त्री पोखरेलले नेपाली खेलाडीहरूलाई ठूलो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेकोमा गर्व व्यक्त गर्दै उनीहरूले आफ्नो सम्पूर्ण क्षमता र समर्पणका साथ प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गरे ।

खेलाडीहरूले पाएको ‘भीआईपी’ पहुँचलाई देशका लागि मेहनत गर्ने खेलाडीप्रतिको सम्मानको एउटा सानो प्रयासका रूपमा लिइएको उल्लेख गर्दै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको मनोबल बढाउन यस्ता पहल महत्त्वपूर्ण हुने विस्वास व्यक्त गरे ।

एसियाडमा नेपालबाट सहभागी हुने २२ खेलमध्ये जापान पुग्ने कराते पहिलो टोली हो। टोलीले टोकियोस्थित विश्व सितोरियो करातेको मुख्य डोजोमा सेप्टेम्बर ६ देखि १६ तारिखसम्म प्रशिक्षण गर्नेछ।

प्रशिक्षणपछि टोली सेप्टेम्बर १७ तारिख टोकियोबाट एसियाड आयोजना हुने नागोया प्रस्थान गर्नेछ। कराते प्रतियोगिता सेप्टेम्बर २० देखि २३ तारिखसम्म सञ्चालन हुनेछ।

नेपालबाट पुरुषतर्फ ५५ केजीमुनि राकेश मानन्धर, ६० केजीमुनि मिनबहादुर तामाङ र ८४ केजीमाथि तेन्जिङ शेर्पाले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ ६८ केजीमाथि एरिका गुरुङ, ६८ केजीमुनि निरुपा दोङ तामाङ र एकल कातामा सानुमाया थिङले प्रतिस्पर्धा गर्नेछिन्।

टिम कातामा सानुमाया थिङ, एलिसा रास्कोटी र मेघा लिम्बु सहभागी हुनेछन् । टोलीका प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, सल्लाहकार राजु सिंहलगायतले टोलीलाई बिदाइ गरेका थिए ।

राखेपका पूर्व सदस्य सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ तथा नेपाल कराते महासंघका महासचिव दावा गुरुङलगायत पनि टोलीलाई बिदाइ गर्न विमानस्थल पुगेका थिए।