काठमाडौं । भोटेकोशी बाढी तथा विपद्बाट हालसम्म १ हजार ३ सय ५६ जनाको मानवीय क्षति भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ ।
प्राधिकरणले सोमबार साँझ ६ बजे सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १६९, नुवाकोटमा १९७, तनहुँमा ३८, धादिङमा ७०, गोरखामा ७५, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२१ शव फेला परेका छन् । फेला परेका शवमा विभिन्न मानव अंगसमेत समावेश छन् ।
सनाखत हुन नसकेका शवको पहिचानका लागि डीएनए परीक्षणको व्यवस्था गरिएको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुईवटा फोटो र नाता प्रमाणित कागजातसहित नमुना दिन सकिने प्राधिकरणले जनाएको छ ।
बाढी तथा विपद्बाट घाइते भएका हालसम्म ६ हजार ६ सय ७६ जनाको उपचार गरिएको छ । विभिन्न १० अस्पतालमा ३२७ जनाको उपचार गरिएकोमा २४२ जना डिस्चार्ज भइसकेका छन् ।
त्यस्तै, नेपाली सेनाबाट ३ हजार ३७९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट २ हजार ९७० जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ ।
हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ । खोज, उद्धार तथा राहत कार्यका लागि हालसम्म २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरी बल, नेपालका ४ हजार २०३ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।
बाढीपछि हालसम्म करिब ४ हजार ९९४ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
