• २०८३ भदौ २३
  • 2026 September 08, Tuesday

विश्वकै सबैभन्दा बढी पारिश्रमिक पाउने राष्ट्रप्रमुखको तलब फेरि १० लाख डलरले बढ्दै

एजेन्सी। सिंगापुर सरकारले आफ्ना मन्त्रीहरू तथा अन्य उच्च पदाधिकारीहरूको वार्षिक तलब बढाउने भएको छ। यसमा विश्वकै सबैभन्दा बढी पारिश्रमिक पाउने राजनीतिक नेता रहेका सिंगापुरका प्रधानमन्त्री पनि समावेश छन्।

सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङको वार्षिक पारिश्रमिक प्याकेजमा १४ लाख सिंगापुर डलर (करिब ११ लाख अमेरिकी डलर) वृद्धि हुनेछ। उनले यो तलब वृद्धि आगामी पाँच वर्षसम्म परोपकारी संस्थाहरूलाई दान गर्ने बताएका छन्।

वोङका अनुसार सक्षम र योग्य व्यक्तिहरूलाई राजनीतिमा आकर्षित गर्न मन्त्रीहरूको तलब बढाउनु आवश्यक छ। सरकारले यसअघि पनि मन्त्रीहरूलाई उच्च तलब दिँदा भ्रष्टाचारतर्फ आकर्षित हुने सम्भावना कम हुने तर्क गर्दै आएको थियो।

तर, सिंगापुरमा यो निर्णयको आलोचना भएको छ। रोजगारीको सुरक्षा र जीवनयापनको बढ्दो लागतलाई लिएर नागरिकहरूमा गहिरो चिन्ता रहेका बेला तलब वृद्धि गर्ने निर्णयप्रति असन्तुष्टि देखिएको हो।

तलब वृद्धि लागू हुनुअघि नै वोङ विश्वकै सबैभन्दा बढी पारिश्रमिक पाउने राजनीतिक नेता हुन्।

हाल उनले वार्षिक २२ लाख सिंगापुर डलर पारिश्रमिक पाउँछन्। अब उनको पारिश्रमिक ६० प्रतिशतभन्दा बढीले बढेर ३६ लाख सिंगापुर डलर (करिब २८ लाख अमेरिकी डलर) पुग्नेछ।

त्यसपछि सबैभन्दा बढी पारिश्रमिक पाउनेमा हङकङका प्रमुख कार्यकारी जोहन ली छन्, जसले करिब ७ लाख १९ हजार अमेरिकी डलर कमाउँछन्। त्यसपछि स्विट्जरल्यान्डका राष्ट्रपति गाइ पार्मेलिनको वार्षिक पारिश्रमिक करिब ६ लाख ६ हजार डलर छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्षिक ४ लाख डलर पारिश्रमिक पाउँछन् भने बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले २ लाख ३० हजार डलर कमाउँछन्।

मंगलबार वोङले सिंगापुरका मन्त्रीहरूको तलबले लामो समयदेखि आलोचना खेप्दै आएको स्वीकार गरे। अधिकांश नागरिकले कमाउने रकमभन्दा मन्त्रीहरूको तलब निकै बढी भएकाले यस विषयमा प्रश्न उठ्नु स्वाभाविक भएको उनले बताए। सिंगापुरमा मासिक औसत (मध्य) आम्दानी ५,७७५ सिंगापुर डलर रहेको छ।

तर, उनले व्यापार क्षेत्रका नेतृत्वकर्ता र उच्च तहका सरकारी कर्मचारीहरूलाई राजनीतिक पदमा आउन तयार पार्न आफूलाई कठिनाइ भइरहेको बताए।

सरकारले यस्ता व्यक्तिहरूले निजी क्षेत्रमा कमाउने रकमसँग प्रतिस्पर्धा गर्न नसक्ने भए पनि उनीहरूले आफ्नो करियर छाडेर राजनीतिमा आउँदा सामना गर्नुपर्ने आर्थिक बाधा अनावश्यक रूपमा ठूलो नबनाउने उनले बताए।

हाल मन्त्रीहरूको आधारभूत पारिश्रमिक प्याकेज करिब ११ लाख सिंगापुर डलर छ। नयाँ तलब प्रणाली लागू भएपछि यो बढेर करिब १२ लाख सिंगापुर डलर पुग्नेछ।