• २०८३ भदौ २४
  • 2026 September 09, Wednesday

जेनजी आन्दोलनलाई संदिग्ध तत्वहरूले अपहरण गरे : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट तथा आगजनीबारे निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्नुपर्ने बताएका छन्।

जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार, घाइते र प्रभावितप्रति समवेदना व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य, सुशासन र अवसरमा समानताको मागसहित सुरु भएको आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन र भ्रष्टाचारविरुद्धको खबरदारीमा केन्द्रित रहेको उल्लेख गरेका छन्।

तर युवाको आवाजलाई संवेदनशील रूपमा लिएर सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको उनको आरोप छ। त्यसपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै ‘संदिग्ध तत्वहरूले आन्दोलनलाई अपहरण गरेको’ प्रचण्डको दाबी छ।

उनले भदौ २४ गते सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय तथा राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, आगजनी र तोडफोड भएको उल्लेख गरेका छन्।

‘युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने नियोजित कार्य एउटै विषय होइन । दुईलाई एउटै दृष्टिले हेर्नु इतिहास र सत्य दुवैमाथि न्याय हुँदैन,’ उनले वक्तव्यमा भनेका छन्।

प्रचण्डले जेन–जी आन्दोलनमाथि भएको दमन र त्यसपछिको हिंसाबारे विभिन्न प्रश्नको सत्यतथ्य उजागर गर्नुपर्ने बताएका छन्। आन्दोलनमाथि दमन किन र कसरी भयो, कसले आन्दोलन भड्कायो, हिंसा तथा लुटपाट कसले मच्चायो र त्यसबाट लाभ कसले उठायो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने उनको भनाइ छ।

उनले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए। प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट, तोडफोड र आगजनी जारी रहनु, संगठित समूहको परिचालन देखिनु तथा प्रज्वलनशील पदार्थ प्रयोग भएका घटनाले थप गम्भीर प्रश्न जन्माएको उनको भनाइ छ।

राष्ट्रिय मानव अधिकार आयोगको जेन–जी आन्दोलनसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने मागसमेत प्रचण्डले गरेका छन्। प्रतिवेदनमा औंल्याइएका विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने उनले बताएका छन्।

यसैगरी, जेन–जी आन्दोलनले उठाएका मुद्दा अझै सम्बोधन नभएको भन्दै उनले वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी र समान अवसरको अपेक्षा गरेका नागरिक पुनः निराश भएको उनको दाबी छ।

महँगी, कमजोर अर्थतन्त्र, रोजगारीको अभाव, बढ्दो वैदेशिक पलायन, सार्वजनिक ऋण र करको बोझलगायत विषयले नागरिकलाई थप समस्यामा पारेको उनले बताएका छन्।

संविधान संशोधनका नाममा संविधानका मूलभूत संरचनामै परिवर्तन गर्ने प्रयास स्वीकार्य नहुने चेतावनीसमेत प्रचण्डले दिएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, मौलिक हक, नागरिक स्वतन्त्रता र जनताको सार्वभौमसत्ता नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धि भएकाले तिनलाई कमजोर पार्ने प्रयासको प्रतिवाद गर्ने उनले बताएका छन्।

‘युवाको आवाजलाई दबाएर होइन, सुनेर र सम्बोधन गरेर मात्र लोकतन्त्र बलियो हुन्छ,’ प्रचण्डले भनेका छन्, ‘लोकतन्त्रका कमजोरीको उपचार लोकतन्त्र समाप्त गर्नु होइन, लोकतन्त्रलाई अझ उत्तरदायी, पारदर्शी, जनमुखी र परिणाममुखी बनाउनु हो।’

उनले यसलाई ‘लोकतन्त्रको सर्भिसिङ’को संज्ञा दिँदै जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको दिन विगत सम्झने मात्र नभई राज्यलाई प्रश्न गर्ने, सत्य खोज्ने र भविष्यको बाटो तय गर्ने दिन भएको बताएका छन्।

प्रचण्डले आफ्नो पार्टीले विगतका अभ्यास र अनुभवबाट शिक्षा लिँदै पार्टी शुद्धीकरण, संगठनात्मक पुनर्निर्माण र राजनीतिक रूपान्तरणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

साथै उनले संविधान र लोकतन्त्रको पक्षमा रहेका राजनीतिक शक्ति, युवा पुस्ता, नागरिक समाज तथा आम नेपाली जनतालाई प्रतिगामी, निरंकुश र जनविरोधी प्रवृत्तिविरुद्ध एकताबद्ध हुन अपिल गरेका छन्।