काठमाडौं । मध्यपूर्वमा अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि प्रतिब्यारेल १०० डलर पुगेको छ। तेल आपूर्तिको प्रमुख मार्ग होर्मुज जलमार्गमा अवरोध बढ्न सक्ने आशंकाले बजारमा आपूर्ति संकटको चिन्ता थपिएको हो।
बुधबार कारोबारको सुरुवातमा ब्रेन्ट क्रुडको मूल्य २ प्रतिशतभन्दा बढीले बढेर केही समयका लागि १०० डलर प्रतिप्यारेल पुगेको थियो। यो जुलाईयताकै उच्च स्तर हो। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) पनि करिब ९५ डलर प्रतिप्यारेल पुगेको छ।
अमेरिकी सेनाले इरानका पाँचवटा कच्चा तेल बोकेका ट्यांकरमा आक्रमण गरेपछि पछिल्लो तनाव बढेको हो। अमेरिकी सेनाका अनुसार इरानले अमेरिकी नौसैनिक पानीजहाजमाथि क्षेप्यास्त्र आक्रमणको प्रयास गरेपछि त्यसको जवाफमा कारबाही गरिएको हो। आक्रमण गरिएका ट्यांकरमध्ये एउटा डुबेको अमेरिकी पक्षले जनाएको छ।
यसको जवाफमा इरानले अमेरिकी स्वार्थ रहेका क्षेत्रलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको छ। इरानले जोर्डनस्थित अमेरिकी सैनिक प्रयोग गर्ने सैन्य आधारलाई निशाना बनाएको दाबी गरेको छ। जोर्डनले भने आफ्ना हवाई सुरक्षा प्रणालीले अधिकांश क्षेप्यास्त्र नष्ट गरेको जनाएको छ।
यसअघि इरानसमर्थित हुथी समूहले साउदी अरबका ऊर्जा पूर्वाधारमा आक्रमण गरेपछि पनि तेल बजारमा दबाब बढेको थियो। यी घटनाले मध्यपूर्वको द्वन्द्व तेल उत्पादन र ढुवानीका महत्वपूर्ण क्षेत्रमा फैलिन सक्ने जोखिम बढाएको छ।
विश्वको महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरूमध्यमा आवागमन प्रभावित भए विश्व बजारमा आपूर्ति घट्न सक्छ। यही जोखिमका कारण पछिल्ला दिनमा विभिन्न अन्तर्राष्ट्रिय बैंक तथा विश्लेषक संस्थाले तेलको मूल्यसम्बन्धी आफ्नो अनुमानसमेत बढाएका छन्।
तेलको मूल्य बढ्दा पेट्रोल, डिजेल, हवाई इन्धन र प्राकृतिक ग्यासको लागत बढ्ने भएकाले विश्वव्यापी मुद्रास्फीतिमा थप दबाब पर्न सक्ने चिन्ता छ। अमेरिकामा डिजेलको औसत मूल्यसमेत पछिल्लो समय उच्च स्तरमा पुगेको छ।
यस वर्ष ब्रेन्ट र अमेरिकी कच्चा तेलको मूल्य ६० प्रतिशतभन्दा बढीले बढिसकेको छ। चीनजस्ता ठूला आयातकर्ता मुलुकको माग र मध्यपूर्वबाट तेल ढुवानीको अवस्थाले आगामी दिनमा मूल्यको दिशा निर्धारण गर्ने देखिन्छ।
बजारमा आपूर्ति अवरोध कति लामो हुन्छ भन्ने स्पष्ट नभए पनि अमेरिका–इरान तनाव, होर्मुजको सुरक्षा अवस्था र क्षेत्रीय द्वन्द्व थप फैलिने जोखिमका कारण अन्तर्राष्ट्रिय तेल बजार अझै अस्थिर रहने संकेत देखिएको छ।