• २०८३ भदौ २४
  • 2026 September 09, Wednesday

विनाशकारी बाढी प्रभावितहरूका लागि यामाहा नेपालद्वारा १५ लाखभन्दा बढीको राहत सहयोग

काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि यामाहा नेपाल परिवार एकजुट भएर सहयोगमा जुटेको छ। बाढीका कारण रसुवा लगायत देशका विभिन्न भागमा ठूलो जनधनको क्षति भएपछि पीडितहरूको सहायताका लागि यामाहाले १५ लाख १५ हजार रूपैयाँभन्दा बढीको योगदान गरेको हो।

विपत्तिको यस कठिन घडीमा यामाहा २-व्हीलर डिभिजन र देशभरका यामाहा डिलरहरूले संयुक्त रूपमा ‘सोलिडारिटी फन्ड’ मार्फत रु. १५,००,००० सङ्कलन गरेका हुन्। यसका साथै, यामाहा डिभिजनको जेन-जी (Gen-Z) टिमले पनि आफ्नो व्यक्तिगत बचतबाट थप रु. १५,००० राहत कोषमा योगदान गरेको छ।

अप्ठ्यारो परिस्थितिमा देश र समुदायलाई साथ दिनु नै सबैभन्दा ठूलो कर्तव्य भएको महसुस गर्दै सम्पूर्ण यामाहा नेपाल परिवार, डिलरहरू र राइडरहरू सामूहिक रूपमा राहत अभियानमा जोडिएका हुन्। यो प्रयासले वास्तविक पीडितहरूसम्म पुगेर उनीहरूलाई तत्काल राहत र भरोसा दिलाउन मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ।

बाढीप्रभावित क्षेत्रहरूमा पुनःस्थापना र पुनर्निर्माणको प्रक्रिया लामो हुने भएकाले आगामी दिनहरूमा पनि प्रभावित समुदायलाई आवश्यक परेसम्म विभिन्न माध्यमबाट निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता यामाहा नेपालले व्यक्त गरेको छ।