• २०८३ भदौ २५
  • 2026 September 10, Thursday

भारतले दियो नेपाललाई अहिलेसम्म १३० टन राहत सामग्री

काठमाडौं । भारतले भदौ १० मा आएको विनाशकारी बाढीपछि जारी उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याइरहेको छ । भारतको विदेश मन्त्रालयका अनुसार बाढीपछि आठवटा विशेष उडानमार्फत १३० टनभन्दा बढी राहत सामग्री र ५४ जना विशेषज्ञ नेपाल पठाइएको छ । उनीहरूले उद्धार, राहत र फरेन्सिक कार्यमा सहयोग गरिरहेका छन्।

भारतले अस्थायी आश्रय, कम्बल, सरसफाइ सामग्री, सौर्य बत्ती र औषधिसहित उद्धार तथा फरेन्सिक कार्यमा प्रयोग हुने विशेष उपकरण पनि पठाएको जनाएको छ । ती सामग्रीमा हिलोमा उद्धार गर्न प्रयोग हुने पोसाक, ग्यास डिटेक्टर, श्वासप्रश्वास उपकरण, फुलाउन मिल्ने बाटो, डीएनए परीक्षण किट तथा रिएजेन्ट छन् । पोर्टेबल जेनेरेटर, प्रकाश टावर र पानी निकाल्ने पम्प पनि उपलब्ध गराइएको छ ।

भारतीय विशेष सुरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा चिलिमे र लाङटाङमा खोजी तथा उद्धार कार्य थालेको थियो । अहिले खोजी कार्य चिलिमेमा केन्द्रित छ । कठिन भूगोल, सीमित पहुँच र सुरुङको भिरालो अवस्थाका कारण उद्धारमा चुनौती देखिएको भारतीय पक्षले जनाएको छ ।

भारतीय टोलीले सुरुङमा हातैले खोजी जारी राखेको छ । भारी उपकरण, विशेषगरी एक्स्काभेटर, सुरुङसम्म पुर्‍याउन अस्थायी बाटो निर्माण भइरहेको छ । भारतीय अधिकारीका अनुसार बाटो निर्माणमा उल्लेख्य प्रगति भएको छ र दुईदेखि तीन दिनभित्र पूरा हुने अपेक्षा गरिएको छ ।

यसैबीच, भारतीय फरेन्सिक टोलीले नेपाली विज्ञसँगको सहकार्यमा काठमाडौंका दुई प्रयोगशालामा डीएनए नमुना परीक्षण र विश्लेषण गरिरहेको छ । भारतले उपलब्ध गराएका फरेन्सिक उपकरण, डीएनए किट र रिएजेन्टले बाढीमा मृत्यु भएकाहरूको पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भारतले नेपाललाई उद्धार, राहत र पुन:स्थापनाका लागि आवश्यक सहयोग जारी राख्ने जनाएको छ ।