• २०८३ भदौ २५
  • 2026 September 10, Thursday

कुशल भुर्तेल र नीति शाह नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

काठमाडौं । नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्वन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र चर्चित मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

कम्पनीद्वारा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बिच गत साउन २० गते क्रिकेट खेलाडी कुशल भुर्तेललाई र बुधबार नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको हो ।

सो कार्यक्रममा आफ्नो धारणा राख्दै प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले खेलकुद र मनोरञ्जन क्षेत्रका स्थापित व्यक्तित्वहरूसँगको आबद्धताले युवा पुस्ता लगायत आम नागरिकसँग टेलिकमको सम्बन्ध अझ सुदृढ र प्रगाढ हुने विश्वास व्यक्त गरिन् । उनले यी साझेदारीहरुले कम्पनीको सामाजिक छवि अभिवृद्धि गर्न, व्यवसाय प्रवर्द्वन गर्न तथा सेवासुविधाहरूको प्रचारप्रसारमा नयाँ ऊर्जा थप्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिन् ।

नवनियुक्त ब्रान्ड एम्बेसडरद्वयले देशकै ठूलो र स्वदेशी लगानीको दूरसञ्चार संस्थासँग जोडिन पाउँदा आफूहरू गौरवान्वित र उत्साहित भएको बताए । उनीहरूले यस सम्झौताका लागि नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा कम्पनीको सामाजिक छवि संरक्षण, सेवासुविधाको प्रवद्र्धन, बजारीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

ब्रान्ड एम्बेसडरको रूपमा उनीहरुले स्वदेश तथा विदेशमा रहेका आम ग्राहकवर्गमा कम्पनीले हाल प्रदान गरिरहेका विभिन्न सेवा–सुविधाहरूको प्रचार–प्रसार तथा कम्पनीको ब्रान्ड प्रवद्र्धन सम्बन्धी कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्नेछन् ।