• २०८३ भदौ २५
  • 2026 September 10, Thursday

राजाको उत्तराधिकारीमा चर्चित टिभी प्रस्तोता छानिएपछि युगान्डामा भाँडभैलो

काठमाडौं। युगान्डाको परम्परागत टोरो राज्यमा नयाँ राजा चयन गर्ने विषयलाई लिएर विवाद चर्किएको छ। ३४ वर्षको उमेरमा गत महिना अमेरिकामा क्यान्सरको उपचारका क्रममा निधन भएका राजा ओयो न्यिम्बा कबाम्बा इगुरु रुकिदी चौथोको अन्त्येष्टिको केही दिनअघि उत्तराधिकारीलाई लिएर विवाद भएको हो।

टोरोका राजवंशीय ज्येष्ठ सदस्यहरूले ५६ वर्षीय प्रिन्स एडवर्ड रुकिदी किजानाङ्गोमालाई नयाँ राजा चयन गरेका छन्। किजानाङ्गोमा दिवंगत राजा ओयोका नातेदार तथा युगान्डाको सरकारी प्रसारण संस्था यूबीसीका चर्चित समाचार प्रस्तोता हुन्। उत्तराधिकार समितिका १९ सदस्यले उनको चयनमा हस्ताक्षर गरेका छन्।

तर राजा ओयोको परिवारले भने यो निर्णय अस्वीकार गरेको छ। ओयोकी बहिनी प्रिन्सेस रुथ कोमुन्टालेका अनुसार राजाले सन् २०२२ मा लेखेको इच्छापत्रमा आफ्ना साना छोरालाई उत्तराधिकारी बनाउने स्पष्ट व्यवस्था गरेका थिए। उनका अनुसार इच्छापत्रमा बालकले तत्काल राजगद्दी सम्हाल्न नसके अपनाउने वैकल्पिक व्यवस्था समेत उल्लेख गरिएको थियो।

राजमाता बेस्ट केमिगिसाले पनि परिवारलाई शान्तिपूर्वक शोक मनाउन दिन आग्रह गरेकी छन्। उनले दरबारमा सैनिक परिचालन गरिएको छ र परिवारको आवतजावत तथा भेटघाटमा प्रतिबन्ध लगाइएको आरोप लगाएकी छिन। उनले युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीसँग परिवारलाई शान्तिपूर्वक अन्त्येष्टि गर्न दिन आग्रह गरेकी छन्।

राजा ओयोका छोरा रहेको जानकारी उनको निधनपछि राष्ट्रपति मुसेभेनीले सार्वजनिक गरेका थिए। तर राजवंशका प्रतिनिधिहरूले बालकलाई अहिलेसम्म राजवंशका ज्येष्ठ सदस्यसमक्ष औपचारिक रूपमा प्रस्तुत नगरिएको बताएका छन्। टोरोको परम्परा अनुसार राजगद्दीका लागि योग्य बालकलाई औपचारिक रूपमा परिचय गराएर आवश्यक परम्परागत प्रक्रिया पूरा गर्नुपर्ने उनीहरूको भनाइ छ।

टोरोमा बेलायतको राजसंस्थाजस्तो निश्चित उत्तराधिकारीको क्रम छैन। टोरोमा राजा बाबिटो राजवंशीय कुलबाट चयन गरिन्छ। त्यसैले ओयोको परिवारले इच्छापत्रलाई आधार बनाउँदै उनका छोरालाई राजा बनाउनुपर्ने दाबी गरिरहेको छ भने राजवंशीय ज्येष्ठ सदस्यहरूले आफ्नो परम्परागत अधिकार अनुसार किजानाङ्गोमालाई चयन गरेका छन्। यसले विवाद बढाएको हो।