• २०८३ भदौ २६
  • 2026 September 11, Friday

बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकालसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले छलफलका लागि बोलाएपछि केही उद्योगी तथा व्यवसायीहरू सिंहदरबार पुगेका छन् । प्रधानमन्त्री शाहले उद्योगी तथा व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाललाई छलफलका लागि बोलाएका हुन् ।

प्रधानमन्त्रीले बोलाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका चारै जना उद्योगी व्यावसायीसँग अहिले प्रधानमन्त्री तथा उनको टीमले छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल हुने बताइएको छ ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चूनौती समाधान गर्ने र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहने सचिवालयको भनाइ छ ।