इरान युद्ध धेरैले अनुमान गरेभन्दा निकै लामो समयदेखि चलिरहेको छ र यसबीच तेल बजार पनि सञ्चालनमै छ।
युद्ध सुरु भएदेखि औसत अमेरिकी परिवारले झन्डै ८०० डलर अतिरिक्त खर्च गर्नुपरेको छ। तर महँगो इन्धन मूल्यका बाबजुद युद्ध सुरु भएको ६ महिनाभन्दा बढी समयपछि पनि कच्चा तेल आवश्यक ठाउँमा अधिकांश रूपमा पुगिरहेको छ। यसको कारण बजारले असाधारण रूपमा लचकता देखाएको छ। स्ट्रेट अफ हर्मुजलाई छल्न वैकल्पिक ढुवानी मार्ग प्रयोग गरिएको छ। ठूलो मात्रामा भण्डारण गरिएको कच्चा तेलमा भर परिएको छ र विश्वभर तेलको प्रयोग घटाइएको छ।
तर वास्तविक प्रश्न भने यो अवस्था कति समयसम्म टिक्न सक्छ भन्ने हो।
केही तेल विश्लेषकहरूका अनुसार स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुलेको वा बन्द नभए पनि तेल बजारले आगामी केही समयसम्म यही नयाँ अवस्थालाई कायम राख्न सक्छ। यस्तो अवस्थामा डोनाल्ड ट्रम्प प्रशासनले सैद्धान्तिक रूपमा इरानसँगको गतिरोधलाई लामो समयसम्म जारी राख्न सक्छ।
तर अन्य केही विश्लेषकहरू भने तेल बजारलाई जसोतसो टिकाइराखेको कमजोर व्यवस्था अन्ततः असफल हुने डरमा छन्। विश्वव्यापी तेल भण्डार निर्णायक बिन्दुमा पुगेर सकिन सक्छ। त्यसपछि ऊर्जाको मूल्य बढ्नुबाहेक अर्को विकल्प नहुन सक्छ र आर्थिक संकट रोक्न अमेरिकाले युद्ध अन्त्य गर्नुपर्ने अवस्था आउन सक्ने उनीहरुको भनाइ छ।
तेलको मूल्य किन तीव्र रूपमा बढिरहेको छैन?
तेल बजारले अहिलेसम्मकै सबैभन्दा ठूलो आपूर्ति धक्कालाई धेरैले सम्भव ठानेभन्दा राम्रोसँग सामना गरेको छ। तेलको मूल्य बढेको छ, तर अहिलेसम्मकै उच्च स्तरमा भने पुगेको छैन।
जेपीमोर्गनकी प्रमुख बजार विश्लेषक नताशा कानेभाले गत साता प्रकाशित गरेको अनुसन्धान प्रतिवेदन अनुसार यसो हुनुको प्रमुख तीन वटा कारण छन्।
पहिलो, बजारले स्ट्रेट अफ हर्मुजलाई छल्न वा त्यसबाट तेल पार गराउन महत्त्वपूर्ण वैकल्पिक उपाय अपनाएको छ। साउदी अरबले पाइपलाइनमार्फत दैनिक लाखौँ ब्यारेल तेल इरानको पहुँचबाहिर रहेका बन्दरगाहतर्फ पठाएको छ।
तर इरानका हुथी सहयोगीहरूले हालै तीव्र गतिमा अघि बढेपछि यो वैकल्पिक योजनाको सम्भाव्यतामाथि प्रश्न उठेको छ। अमेरिकी सेनाले खाडी राष्ट्रहरूसँग मिलेर स्ट्रेट हुँदै तेल लैजान गोप्य रूपमा सञ्चालन गरिएको सक्ष्म अभियानलाई सुरक्षा दिने प्रयास पनि गरेको छ। अमेरिका, भेनेजुएला, ब्राजिल, गुयाना र क्यानडाले संयुक्त रूपमा आफ्नो उत्पादन दैनिक करिब २० लाख ब्यारेलले बढाएका छन्।
“ब्यारेलहरू कुनै न कुनै बाटो भएर बग्ने उपाय खोज्छन्,” कानेभाले भनिन्।
दोस्रो, अमेरिका र चीनबाहेक अधिकांश देशले अनुमान गरिएभन्दा निकै कम मात्रामा आफ्नो तेल भण्डार घटाएका छन्। यसले सरकारहरूले अवस्था अझ गम्भीर भएमा प्रयोग गर्न सक्ने तेलको भण्डार सुरक्षित राखेको छ।
तेस्रो, युद्धका क्रममा विश्वभर तेलको माग तीव्र रूपमा घटेको छ; दैनिक करिब ५० लाख ब्यारेलले। विश्वका धेरै ठाउँमा मानिसले यात्रा योजना रद्द गरे, विद्युतीय गाडी प्रयोग गर्न थाले वा बस चढ्न थाले। केही व्यवसायले कर्मचारीलाई घरबाट काम गर्न प्रोत्साहित गरे। चीनले विश्वव्यापी ढुवानी क्षमतामै दबाब पर्ने गरी धेरै विद्युतीय गाडी निर्यात गरिरहेको छ। मध्यपूर्व, रुस र चीनमा प्रशोधन क्षमताको कमीले पनि माग घटाएको छ र कच्चा तेलको मूल्यलाई थप बढ्नबाट रोकेको छ।
यी सबै कारणले युद्धका क्रममा गुमेको दैनिक करिब १ करोड ३० लाख ब्यारेल तेलको आपूर्तिको असरलाई कम गर्न मद्दत गरेको छ। कानेभाका अनुसार यो नयाँ सन्तुलन केही समयसम्म कायम रहन सक्छ। बजार चलिरहेको छ, यद्यपि केही बढी मूल्यमा।
जेपीमोर्गनले युद्ध कहिल्यै अन्त्य नहोला भनेर अनुमान गरेको छैन। तर त्यस्तो अवस्था आएमा कानेभाका अनुसार तेलको मूल्य प्रतिब्यारेल करिब ८७ डलरमा स्थिर हुन सक्छ , जुन आजको स्तरभन्दा निकै कम हो। युद्ध अन्त्य भएमा तेलको मूल्य अझ घटेर प्रतिब्यारेल ६४ डलरमा पुग्ने अनुमान छ।
र्यापिडन इनर्जी ग्रुपका अध्यक्ष तथा सहसंस्थापक बब म्याकनली भने बढी निराशावादी देखिन्छन्। उनी यो युद्ध कहिल्यै अन्त्य नहुने अनुमान गर्छन् र जसले अर्को वर्ष ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८९ डलर रहने प्रक्षेपण गर्छन्।
“हामी हर्मुज पूर्ण रूपमा फेरि खुल्ने देख्दैनौँ,” अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसका ऊर्जा सल्लाहकार समेत रहेका म्याकनलीले भने, “संसारको सबैभन्दा महत्त्वपूर्ण आपूर्ति क्षेत्रलाई जोखिममा पार्ने यो अन्त्यहित युद्धले तेल र ग्यासको मूल्य तीव्र बनाउनेछ।”
तेलको मूल्य किन बढ्नै पर्न सक्छ
तेल बजार नयाँ सामान्य अवस्थामा पुगे पनि यसलाई जसोतसो टिकाइराखेको व्यवस्थामा केही कमजोर पक्ष छन्, जुन लामो समयसम्म दबाब परे असफल हुन सक्छन्।
युद्धको असर कम गर्न अमेरिका र चीन आफ्नो तेल भण्डारमा ठूलो भर परेका छन्। उनीहरूले अपेक्षा गरिएभन्दा धेरै लामो समयसम्म यसलाई धानेका छन्। जुलाई महिनामा ओक्लाहोमाको कुशिङमा रहेको एउटा महत्त्वपूर्ण भण्डारण केन्द्र सञ्चालनका लागि आवश्यक न्यूनतम स्तरमा पुगेको थियो। त्यस अवस्थामा भौतिक कारणले तेल कम्पनीहरूलाई पाइपलाइनमार्फत कच्चा तेल प्रशोधन केन्द्रसम्म पुर्याउन सहज हुँदैन। तर कुशिङको भण्डार फेरि बढेको छ र पछिल्ला हप्तामा जोखिमको स्तरभन्दा केही माथि पुगेको छ।
चीनले पछिल्ला हप्तामा आफ्नो तेल आयात सुस्तरी बढाएको छ। तर युद्धअघि रहेको स्तरभन्दा दैनिक लाखौँ ब्यारेल कम नै छ। चीनसँग कति तेल भण्डारमा छ भन्ने कुरा चिनियाँ सरकारबाहिर थोरैलाई मात्र थाहा छ। तर त्यो करिब १ अर्ब ब्यारेल रहेको विश्वास गरिन्छ।
यदि युद्ध लामो समयसम्म चलिरह्यो भने भविष्यको कुनै अज्ञात समयमा यी भण्डार सकिने क्यापिटल इकोनोमिक्सका बजार अर्थशास्त्री हमाद हुसेन बताउँछन्। त्यसले आपूर्ति र मागबीच अत्यन्त ठूलो असन्तुलन ल्याउने र तेलको मूल्य निकै माथि जाने उनको अनुमान छ।
पछिल्लो अवस्था यथावत् रहेमा घट्दो तेल भण्डारले तत्कालै मूल्य बढाउने सम्भावना कम भए पनि यसले तेलको मूल्यमा ठूलो उतारचढाव ल्याउने पिकरिङ इनर्जी पार्टनर्सका संस्थापक तथा प्रमुख लगानी अधिकारी ड्यान पिकरिङले बताए। उनका अनुसार यो उतारचढाव यस वर्ष नभई सम्भवतः अर्को वर्षको अन्त्यतिर देखिन सक्छ। किनभने, पाइपलाइनका वैकल्पिक व्यवस्था छिटो बनाउन सकिँदैन र भेनेजुएलाजस्ता नयाँ आपूर्ति स्रोतले पनि सधैँ पर्याप्त क्षतिपूर्ति गर्न सक्दैनन्।
अर्को महत्त्वपूर्ण पक्ष भनेको अमेरिकी सेनाको क्षमता हो।
“यो बजारको लुकेको कुरा होइन। अमेरिकी सेनाले कुनै उपाय खोजिरहेको छ,” आरबीसी क्यापिटल मार्केट्समा विश्वव्यापी बजारको नेतृत्व गर्ने हेलिमा क्रफ्टले भनिन्।
पूर्वसीआईए विश्लेषक क्रफ्टले अमेरिकी सेनाको शक्ति असीमित नभएको समेत बताइन्।
“के हामी सधैँ सुरक्षा दिने काममै रहन सक्छौँ? यो ठूलो जिम्मेवारी हो। यी महँगा वैकल्पिक उपायहरू समेत हुन्।”
क्रफ्टलाई यो युद्ध “ग्रे जोन द्वन्द्व” मा अड्किएको जस्तो लाग्छ, जहाँ कठिन शान्त अवस्था बीचबीचमा द्वन्द्व चर्किने अवस्थामा परिणत हुन् सक्छ। उनले सन् २०१९ मा साउदी अरबको तेल क्षेत्रमा भएको ड्रोन आक्रमणजस्तो घटना फेरि हुन सक्ने र त्यसले तेलको मूल्य आकाशिन सक्ने जोखिम अझै वास्तविक रहेको बताइन्।
युद्ध कति लामो जान सक्छ?
एक ठूलो बैंकका प्रमुख कार्यकारी अधिकृतले सीएनएनलाई अमेरिका–इरान द्वन्द्व सम्भवतः कहिल्यै अन्त्य नहुने युद्ध भएको बताए।
“म यसका कारण राति निद्रा हराम गरिरहेको छैन, तर हामी त्यसका लागि तयार हुनुपर्छ,” बैंकका ती प्रमुख कार्यकारीले भने, “कहिल्यै अन्त्य नहुने युद्धले सबैलाई असहज बनाइराख्नेछ, तर एक समयपछि यो नै नयाँ सामान्य अवस्था हो भन्ने महसुस हुन्छ।”
अमेरिकी अधिकारीहरू र अनुसन्धानकर्ताहरू पनि यही अवस्थाका लागि वा कम्तीमा लामो समयसम्म रहने आपूर्ति धक्काका लागि तयारी गरिरहेको देखिन्छ।
गत साता अमेरिकी ऊर्जा सूचना प्रशासनले स्ट्रेट अफ हर्मुजहुँदै हुने तेल निर्यात यस वर्षको बाँकी अवधिभर सीमित रहने निष्कर्ष निकालेको थियो।
एसएन्डपी ग्लोबल इनर्जीले अझ एक कदम अगाडि बढ्दै एउटा प्रतिवेदनमा मध्यपूर्वको तेल उत्पादन अर्को वर्षको अन्त्यसम्म पनि युद्धअघिको स्तरमा नफर्किने अपेक्षा गरेको जनाएको छ।
“बजार फेरि शान्त अवस्थामा फर्किरहेको छैन,” एसएन्डपीका विश्वव्यापी कच्चा तेल अनुसन्धान प्रमुख जिम बुर्कहार्डले भने, “नसुल्झिएको द्वन्द्व र निरन्तर समुद्री जोखिमले परिभाषित गरेको नयाँ सामान्य अवस्था अनुसार बजार समायोजन भइरहेको छ।”
(सीएनएनबाट)