• २०८३ भदौ २८
  • 2026 September 13, Sunday

अस्कर प्रतिस्पर्धामा नेपालबाट ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ सिफारिस

काठमाडौं। सन् २०२७ मा आयोजना हुने ९९औँ एकेडेमी अवार्ड्स (अस्कर) को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालबाट ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ प्रतिस्पर्धाका लागि सिफारिस भएको छ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आइतबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार अविनाश विक्रम शाह निर्देशित उक्त चलचित्रलाई नेपालको आधिकारिक प्रतिनिधि फिल्मका रूपमा छनोट गरिएको हो।

यसपटक अस्करका लागि नेपालबाट ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ गरी दुई चलचित्रले आवेदन दिएका थिए। दुवै फिल्मको अध्ययन तथा मूल्यांकनपछि समितिले ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’लाई अघि बढाउने निर्णय गरेको हो।

समितिका अनुसार फिल्म छनोट गर्दा प्राविधिक गुणस्तर, कथावस्तुको प्रस्तुति, पात्रहरूको भावनात्मक पक्ष र कलात्मक शिल्पलाई मुख्य आधार बनाइएको थियो। एकेडेमीले तोकेको मापदण्डअनुसार गरिएको मूल्यांकनमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ उपयुक्त ठहरिएको समितिले जनाएको छ।

चलचित्रमा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, आशान्त शर्मा, गौरी मल्ल र माओत्से गुरुङलगायत कलाकारको अभिनय छ।

यो फिल्म यसअघि अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण उपलब्धि हासिल गरिसकेको छ। फिल्म कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुँर्दै जुरी अवार्ड जित्न सफल भएको थियो। कान्समा पुरस्कार जित्ने यो पहिलो नेपाली फिल्म हो।