• २०८३ भदौ २८
  • 2026 September 13, Sunday

जोखिमपूर्ण हिमताल फुटाउने सरकारको तयारी, कुन-कुन फुटाउने भन्ने टुंगो लाग्न बाँकी

काठमाडौँ । सरकारले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी भइरहेको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका हुन ।

मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृहकार्य गरिरहेको जानकारी दिएका हुन ।

“जोखिममा रहेका हिमतालहरु ब्लास्टिङ गरेर जलसतह पास गर्नेगरी छलफल अघि बढेको छ । जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नैपर्छ । विपद् जोखिमको पूर्वतयारीमा हामी गम्भीर छौं । तयारी सकिएपछि निर्णय लिनेछौं,” उनले भने ।

मन्त्री श्रेष्ठले कुन कुन ताल फुटाउने भनेर टुंगो नलागिसकेको पनि बताए।
“विज्ञहरुसँग परामर्श लिँदैछौं । छलफलमा धेरै तालहरुको नाम विज्ञहरुबाट आएको छ । अध्ययन गरिरहेका छौं । जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौं,” उनले भने ।

मन्त्री श्रेष्ठका अनुसार ग्रिन क्लाइमेट फण्ड (जीसीएस) बाट प्राप्त सहयोग परिचालन गरेर विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ ।

इसिमोड र युएनडिपीको संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त छन् । कोशी र गण्डकी क्षेत्रमा चार वटा अति उच्च जोखिमयुक्त हिमताल छन् ।