काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा बाढीले क्षति पुर्याएको सडक मर्मत गरी आंशिक रूपमा सञ्चालनमा ल्याइएको छ।
त्रिशूली नदीको बाढीले सडकको तल्लो भाग कटान गरी सडक भासिएपछि अवरुद्ध बनेको क्षेत्रमा सडक विभागले नयाँ ट्र्याक निर्माण, सतह मिलाउने, चौडा बनाउने र ग्राभेल बिछ्याउने काम अघि बढाएको थियो। मर्मत सुरु भएको करिब १० दिनपछि बुधबारदेखि सडकमा सीमित रूपमा सवारी सञ्चालन गरिएको हो।
हाल नयाँ ट्र्याकबाट ग्यास बुलेट, ट्रक तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई प्राथमिकताका साथ आवतजावत गर्न दिइएको सडक विभागले जनाएको छ। सडकको भारवहन क्षमता र आवागमनको अवस्था बुझ्न यसअघि खाली ग्यास बुलेटसमेत चलाएर परीक्षण गरिएको थियो।
सडक विभागका महानिर्देशक डा। विजय जैसीका अनुसार भित्तातर्फ नाली निर्माणको काम अझै बाँकी छ। उक्त काम पूरा गरेपछि बिहीबारदेखि सडकलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
कृष्णभीरमा सडक भासिएपछि त्यसको माथिल्लो भागतर्फ पहाड काटेर नयाँ ट्र्याक खोलिएको हो। सडक फराकिलो पार्ने, सतह सम्याउने र ग्राभेल हाल्ने काम तीव्र गतिमा भइरहेको नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले जानकारी दिए।
काम छिट्टै सम्पन्न गर्न ठूलो संख्यामा उपकरण र जनशक्ति परिचालन गरिएको छ। राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको पृथ्वी राजमार्गमा दैनिक १४ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन्।