काठमाडौं। युक्रेन-पोल्यान्ड सीमाबाट करिब दुई किलोमिटर टाढा रुसी ड्रोनले रेलमाथि आक्रमण गरेको छ। आक्रमण हुँदा बेलायती पूर्वप्रधानमन्त्री बोरिस जोन्सनसहित युरोपका उच्च सुरक्षा अधिकारीहरू त्यही रेलमार्गबाट केही बेरअघि मात्रै हिँडेका थिए।
युक्रेनी अधिकारीहरूका अनुसार याहोदीन क्षेत्रमा भएको ड्रोन आक्रमणमा रेलको इन्जिनमा क्षति पुगेको छ। घटनामा कुनै मानवीय क्षति भने भएको छैन। आक्रमणपछि रेलमा रहेका सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
जोन्सनसहित बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल र अन्य युरोपेली देशका सुरक्षा अधिकारीहरू किभमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा अर्को रेलमार्फत सोही रेलमार्ग हुँदै गएका थिए।
रुसले भने पश्चिमी युक्रेनको रेल पूर्वाधारलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ। तर युक्रेनको सरकारी रेल कम्पनी उक्रजालिज्नित्सियाले भने ड्रोनको वास्तविक लक्ष्य सम्भवतः कूटनीतिक रेल हुन सक्ने आशंका व्यक्त गरेको छ।
कम्पनीका अनुसार कूटनीतिक रेललाई लगातार रुसी आक्रमणको खतरा रहेकाले समयतालिकामा परिवर्तन गरी अपेक्षाभन्दा अगाडि नै स्टेशनबाट पठाइएको थियो। आक्रमणमा परेको रेलका यात्रुलाई समेत ड्रोन प्रहार हुनुभन्दा करिब १५ मिनेटअघि मात्रै उद्धारका लागि बाहिर निकाल्न निर्देशन दिइएको थियो।
आक्रमण भएको स्थान पोल्यान्डको सीमाबाट करिब दुई किलोमिटर मात्रै टाढा रहेको युक्रेन र पोल्यान्ड दुवै पक्षले पुष्टि गरेका छन्।
घटनाका बेला अर्कै रेलमा रहेका पूर्वसीआईए प्रमुख डेभिड पेट्रियसले घटनालाई ‘डरलाग्दो’ बताएका छन्। न्युयोर्क टाइम्ससँगको कुराकानीमा उनले यो घटना युक्रेनी नागरिकलाई आतंकित बनाउने उद्देश्यले गरिएको ‘बर्बर नेतृत्वको कार्य’ भएको टिप्पणी गरेका छन्।
त्यस्तै, सम्मेलनमा सहभागी भएका पूर्वस्विडिस प्रधानमन्त्री कार्ल बिल्ड्टले पनि आफू सवार रेलका यात्रुलाई आक्रमणपछि उद्धारका लागि तयार रहन भनिएको बताएका छन्। केही मिनेटपछि अवस्था सुरक्षित रहेको जानकारी आएपछि रेलले पुनः यात्रा सुरु गरेको र पोल्यान्डको सीमावर्ती दोरोहुस्क स्टेशनसम्म सुरक्षित रूपमा पुगेको उनले बताएका छन्।
बिल्ड्ट र जोन्सन एउटै रेलमा रहेको केही रिपोर्टमा उल्लेख भए पनि जोन्सनले भने यसबारे पुष्टि गरेका छैनन्।
जोन्सनले सामाजिक सञ्जाल एक्समा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै युक्रेनको पोल्यान्ड सीमामा रोकिराखिएको रेलको इन्जिनमाथि भएको आक्रमणलाई अर्थहीन र संवेदनाहीन बताएका छन्। उनले युक्रेनलाई तत्काल आवश्यक वायु प्रतिरक्षा प्रणाली उपलब्ध गराउन उसका सहयोगी राष्ट्रहरूलाई आग्रह गरेका छन्।
घटनापछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आपत्कालीन बैठक बोलाएका छन्। उनले रुसको गतिविधि थप आक्रामक बन्दै गएको र आफ्नै देशको सीमातर्फ खतरा नजिकिँदै गएको बताएका छन्।