• २०८३ भदौ २९
  • 2026 September 14, Monday

सुधारको अपेक्षाले सेयर बजारमा उत्साह, नेप्से २५.५५ अंक बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उत्साह देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.५५ अंकले बढेर २,५८५.०४ विन्दुमा पुगेको छ।

यसअघि गत शुक्रबार पनि बजार २७.९४ अंकले उकालो लागेको थियो। यससँगै दुई कारोबार दिनमा नेप्से करिब ५२ अंकले बढेको छ।

सोमबार कारोबार रकममा समेत सुधार देखियो। दिनभर ४ अर्ब ६८ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ। अघिल्लो कारोबार दिन करिब ४ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको थियो।

सोमबार १ करोड १५ लाख कित्ता सेयर करिब ४९ हजारपटकको कारोबारबाट किनबेच भएको हो।

कारोबारमा आएका कम्पनीमध्ये २२६ वटाको सेयर मूल्य बढेको छ भने ४७ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन।

समग्र बजारमा वृद्धि देखिए पनि सबै समूह भने बढेनन्। म्युचुअल फन्ड समूहबाहेक अन्य अधिकांश उपसमूहको सूचक सकारात्मक रहे। बैंकिङ ०.७८ प्रतिशत, विकास बैंक ०.८७ प्रतिशत, फाइनान्स १.६७ प्रतिशत, होटल तथा पर्यटन ०.८६ प्रतिशत र जलविद्युत् समूह १.१६ प्रतिशतले बढे।

त्यस्तै लगानी समूह ०.६४ प्रतिशत, जीवन बीमा १.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५४ प्रतिशत, लघुवित्त ०.७८ प्रतिशत, निर्जीवन बीमा १.५० प्रतिशत, अन्य समूह १.३९ प्रतिशत र व्यापार समूह १.३८ प्रतिशतले उकालो लागेका छन्।

पछिल्लो समय सेयर बजार सुधारका लागि सरकारले चाल्न सक्ने कदमबारे लगानीकर्तामा चासो बढेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजार सुधारका लागि प्याकेज वा कार्ययोजना ल्याउने तयारीबारे सार्वजनिक रूपमा बताएका छन्। सुधारको अपेक्षाले सेयर बजारमा उत्साह बढेको देखिन्छ।