• २०८३ भदौ ३०
  • 2026 September 15, Tuesday

फिनटेकका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको पहुँच र प्रयोग विस्तार गर्दै फिनटेक क्षेत्रमा नवप्रवर्तन तथा प्रतिस्पर्धा बढाउने गरी पाँचवर्षे रणनीतिक ढाँचा तयार गरेको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार गरेको ‘फिनटेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज’ सन् २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ । रणनीतिमा फिनटेकमैत्री नियमन, सुरक्षित डिजिटल पूर्वाधार र सरोकारवालाबीचको सहकार्यलाई प्राथमिकता दिइएको छ ।

रणनीतिले डिजिटल वित्तीय सेवामा पहुँच विस्तार, वित्तीय क्षेत्रमा प्रतिस्पर्धा वृद्धि, सेवाका विकल्प विस्तार, वित्तीय स्थायित्वका जोखिम न्यूनीकरण तथा प्रविधिमार्फत वित्तीय सेवाको लागत घटाउने लक्ष्य राखेको छ ।

रणनीतिको केन्द्रमा पूर्वाधार विकास, नीति–नियमन तथा सुशासन र फिनटेक इकोसिस्टम विकास गरी तीन प्रमुख आधारस्तम्भ राखिएका छन् । फिनटेक सेवा प्रदायकबीच समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न फिनटेकमैत्री नियामकीय व्यवस्था विकास गर्ने राष्ट्र बैंकको योजना छ ।

रणनीतिले सुरक्षित र सुदृढ डिजिटल प्रणाली विकाससँगै नयाँ डिजिटल वित्तीय उत्पादन तथा सेवा विस्तार, नवप्रवर्तनलाई सहयोग र डिजिटल वित्तीय साक्षरता बढाउने विषयलाई पनि प्राथमिकता दिएको छ । एमएसएमई, ग्रामीण क्षेत्र, युवा, महिला, बालबालिका तथा गिग अर्थतन्त्रमा आबद्ध श्रमिकलाई रणनीतिले लक्षित समूहका रूपमा राखेको छ । राष्ट्र बैंकले रणनीति कार्यान्वयनबाट सुरक्षित, समावेशी, नवीन र अन्तरआबद्ध डिजिटल वित्तीय प्रणाली विकास हुने अपेक्षा गरेको छ ।