सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा बाक्लो हुस्सुका कारण ईभी कार सडकपेटीमा रोकिराखिएको भारतीय नम्बर प्लेटको ट्यांकरमा ठोक्किँदा चार जना घाइते भएका छन् । दुर्घटना पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान करिब पौने ६ बजे भएको हो ।
प्रहरीका अनुसार काठमाडौंबाट झापातर्फ जाँदै गरेको बा.प्र.०१–०३५च ३३१७ नम्बरको ईभी कार बिग्रिएर सडकपेटीमा रोकिराखिएको डब्लुबी ११ एफ १७९५ नम्बरको भारतीय ट्यांकरमा ठोक्किएको हो ।
दुर्घटनामा कार चालक धादिङको पितले–३ का २१ वर्षीय मनोज श्रेष्ठ, सुनसरी इनरुवा–३ का ३० वर्षीय ओशिम खान, बराहक्षेत्र–९ का २५ वर्षीय मोहन कविरथ र झापाको भद्रपुर–७ का २८ वर्षीय पवन राई घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हिमराज घिमिरेका अनुसार बाक्लो हुस्सुका कारण अगाडिको दृश्य स्पष्ट नहुँदा तीव्र गतिमा रहेको ईभी ट्यांकरमा ठोक्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी घिमिरेले जानकारी दिए ।