सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने तासुगाड खोलामा कल्भर्ट बगेको एक महिना पुगिसकेको छ । तर, खोलामा स्थायी पुल नहुँदा यात्रु र स्थानीय अझै जोखिम मोलेर वारपार गर्न बाध्य छन् ।
साउन २९ गते आएको बाढीले कल्भर्ट र झोलुङ्गे पुल बगाएपछि भेरी करिडोरअन्तर्गतको यो खण्डमा आवतजावत थप जोखिमपूर्ण बनेको हो । सुरक्षित वारपारको विकल्प नहुँदा पैदल यात्रु, मोटरसाइकल तथा अन्य सवारीसाधन खोलाको अवस्था हेरेर जोखिम उठाउँदै वारपार गर्ने गरेका छन् ।
कजवे बगेको एक महिनाको अवधिमै तासुगाड खोलाले दुईजनालाई बगाएर बेपत्ता बनाइसकेको छ । सोमबार मोटरसाइकलमा सवार बारेकोट गाउँपालिका–४ का रमेश सुनारलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए । सुनारको खोजी भइरहेको छ ।
यसअघि नलगाड नगरपालिका–११ दम्काका ४६ वर्षीय रतनबहादुर दमाईलाई पनि सोही खोलाले बगाएर बेपत्ता बनाएको थियो । केही दिनअघि एक महिलालाई समेत खोलाले बगाउँदा स्थानीयले बीच खोलाबाट उद्धार गरेका थिए ।
तासुगाडमा स्थायी पुल नहुँदा वर्षायाममा सर्वसाधारणले जोखिम मोलेर खोला तर्नुपर्ने समस्या नयाँ होइन । यहाँ पुल निर्माणका लागि सम्बन्धित निकायले छ वर्षअघि नै ठेक्का सम्झौता गरेको थियो ।

भेरी करिडोर परियोजनाले २०७७ माघ २ गते तासुगाड सीमामा पर्ने माइदे खोला र तासुगाडतर्फका दुई पुल निर्माणका लागि रायमाझी–काराभान जेभीसँग करिब १३ करोड ५४ लाख ३८ हजार नौ सय रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार दुवै पुलको लम्बाइ एक सय–एक सय मिटर रहने र ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
तर, सम्झौताको म्याद सकिएको लामो समय बितिसक्दा पनि तासुगाडमा पुल निर्माण हुन सकेको छैन । स्थायी पुल बन्न नसक्दा स्थानीय र यात्रु वर्षायाममा अस्थायी संरचनाकै भरमा खोला वारपार गर्नुपर्ने बाध्यतामा छन् ।
कलभर्ट र झोलुङ्गे पुल बगेपछि झनै जोखिम
यसपटक बाढीले स्थायी पुलको विकल्पका रूपमा प्रयोग हुँदै आएको कलभर्ट र झोलुङ्गे पुलसमेत बगाएपछि समस्या झनै गम्भीर बनेको छ । कलभर्ट बगेपछि खोला तर्नुपर्ने यात्रुकालागि सुरक्षित वैकल्पीक संरचना छैन ।

भेरी करिडोर जाजरकोट, रुकुम पश्चिम हुँदै डोल्पासम्म जोडिने महत्वपूर्ण सडक हो । दैनिक यात्रु तथा सवारीसाधन आवतजावत गर्ने यो सडकखण्डमा एउटा पुल निर्माणमा भएको ढिलाइले वर्षायाममा आवतजावतलाई जोखिमपूर्ण बनाउँदै आएको छ ।
ठेक्का लागेको वर्षौं बितिसक्दा पनि पुल निर्माण अघि नबढ्नु र अस्थायी रूपमा प्रयोग हुँदै आएको संरचना पनि बाढीले बगाउनुका कारण अहिले यात्रुको ज्यान नै जोखिममा परेको छ । पछिल्ला घटनाले पुल निर्माणमा भएको ढिलाइको मानवीय मूल्यसमेत देखाएको छ ।
‘कति जना मानिसको मृत्यु भएपछि पुल बन्छ ?’
स्थायी पुल निर्माणमा भइरहेको ढिलाइप्रति स्थानीय आक्रोशित छन् । नलगाड नगरपालिका–११ का धनिराम ठकुरीले वर्षौंअघि ठेक्का लागेको पुल अहिलेसम्म नबन्नु दुःखद् भएको बताए ।
‘ठेक्का लागेको यतिका वर्ष भइसक्यो, कजवे पनि बगिसक्यो। खोला तर्ने क्रममा मानिस बेपत्ता भइरहेका छन्’ उनले भने, ‘कति जना मानिसको मृत्यु भएपछि तासुगाडमा पुल बन्छ ?’
स्थानीयले अब अस्थायी संरचना निर्माण गरेर मात्र समस्या समाधान नहुने भन्दै ठेक्का लागेको स्थायी पुलको काम तत्काल अघि बढाउन माग गरेका छन् । उनीहरूले निर्माणमा भएको ढिलाइको कारण पहिचान गरी सम्बन्धित ठेकेदार तथा निकायलाई जिम्मेवार बनाउनसमेत माग गरेका छन् ।