काठमाडौँ । कृत्रिम बुद्धिमत्ताको विकास तीव्र गतिमा भइरहेका बेला यसलाई केही समय सुस्त बनाउनुपर्ने आवाज प्रविधि क्षेत्रका प्रमुख व्यक्तिहरूबाट उठ्न थालेको छ । तर आपसी प्रतिस्पर्धा, अमेरिकी सरकारको अनिच्छा र भूराजनीतिक कारणले यस्तो प्रयास चुनौतीपूर्ण देखिएको छ ।
शनिबार एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले कृत्रिम बुद्धिमत्ताबाट उत्पन्न हुन सक्ने जोखिम बुझ्न विकासको गतिमा समन्वयात्मक रूपमा कमी ल्याउनुपर्ने बताएका थिए । उनको प्रस्तावलाई ओपनएआईका प्रमुख साम अल्टम्यान, एलन मस्क र गुगल डीपमाइन्डका प्रमुख डेमिस हासाबिसले पनि समर्थन गरेका थिए ।
पछिल्ला महिनामा ओपनएआई र एन्थ्रोपिकले आफ्ना कृत्रिम बुद्धिमत्ता प्रणाली नियन्त्रणमा राखिएको वातावरणबाट बाहिर निस्किएर इन्टरनेटमा पहुँच बनाएको र विभिन्न प्रणालीमा आक्रमण गर्ने प्रयास गरेको घटना सार्वजनिक गरेका थिए । ती प्रणालीले आपसमा समन्वय गर्ने, नेतृत्व तह बनाउने, छल गर्ने र आफ्ना गतिविधिका प्रमाण मेटाउने क्षमता देखाएको बताइएको छ ।
तर कृत्रिम बुद्धिमत्ता विकासमा अर्बौं डलरको लगानी र अमेरिकी तथा चिनियाँ कम्पनीबीचको तीव्र प्रतिस्पर्धाका कारण कुनै एउटा कम्पनीले मात्र विकासको गति घटाउने सम्भावना न्यून छ । अमोडेईले चीनबाहेक लोकतान्त्रिक मुलुकबीच समन्वय गर्नुपर्ने धारणा राखेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कृत्रिम बुद्धिमत्ता क्षेत्रका नेताहरूले उठाएका चिन्तालाई ‘नकारात्मक शक्ति’ भन्दै खारेज गरेका छन् । अमेरिकी रिपब्लिकन नेताहरूले कडा नियमले नयाँ प्रविधिको विकास रोक्न सक्ने र चीनलाई कृत्रिम बुद्धिमत्ताको दौडमा फाइदा पुग्न सक्ने भन्दै सरकारी नियन्त्रणप्रति अनिच्छा देखाएका छन् ।
चीनलाई समेटेर कृत्रिम बुद्धिमत्ताको विकास सुस्त बनाउने विषय झनै जटिल देखिएको छ । चीनले खुला रूपमा प्रयोग र परिमार्जन गर्न मिल्ने कृत्रिम बुद्धिमत्ता प्रणालीलाई प्रोत्साहन गरिरहेको छ । यस्ता प्रणाली नियन्त्रण गर्न तुलनात्मक रूपमा कठिन हुने भएकाले सुरक्षा चुनौती थपिने विज्ञहरूको भनाइ छ ।
अमोडेईले अत्याधुनिक अमेरिकी विद्युतीय उपकरण चीन पुग्न नदिने व्यवस्था कडा बनाउन तथा पश्चिमी प्रविधिको दुरुपयोग रोक्न थप सुरक्षा उपाय अपनाउनुपर्ने बताएका छन् । उनका अनुसार यस्ता कदमले प्रमुख कम्पनीहरूलाई कृत्रिम बुद्धिमत्ताको विकासमा केही समय सावधानी अपनाउन सहज बनाउन सक्छ ।
चीनले भन्यो- शीतयुद्धको चाल !

चीनले कृत्रिम बुद्धिमत्ता विकासको गति केही सुस्त बनाउनुपर्ने अमेरिकी प्रस्तावलाई चीनको प्रविधि विकास रोक्ने प्रयास भनेको छ ।
एन्थ्रोपिकका प्रमुख डारियो अमोदेईले एआईबाट उत्पन्न जोखिम बुझ्न समय दिन विकासको गति केही कम गर्नुपर्ने बताए पछि नयाँ बहस सिर्जना भएको बेला चीनले यस्तो प्रतिक्रिया दिएको हो ।
उनले चीनतर्फ पठाइने अत्याधुनिक कम्प्युटर चिपमा थप कडाइ गर्न र एआई मोडलबाट जानकारी लिएर नयाँ मोडल बनाउने प्रक्रियामा समेत नियन्त्रण गर्न अमेरिकी सरकारसँग आग्रह गरेका थिए ।
चिनियाँ सरकारी अखबार ‘ग्लोबल टाइम्स’ले अमोदेईको प्रस्तावलाई अमेरिकी प्राविधिक वर्चस्व कायम राख्ने ‘शीतयुद्धको रणनीति’ भनेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने एआई विकासको गति कम गर्ने प्रस्ताव अस्वीकार गर्दै अमेरिका एआईको क्षेत्रमा चीनभन्दा अगाडि रहेको बताएका छन् । आगामी २४ सेप्टेम्बरमा ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने वार्तामा एआईको विषय उठ्न सक्ने बताइएको छ ।
अल्टम्यान भन्छन्- एआईबारे डराउनु स्वाभाविक हो तर कम्पनीहरुमाथि विश्वास गरौँ

ओपनएआईका प्रमुख साम अल्टम्यानले कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासका कारण मानिसहरू यसबाट डराउनु स्वाभाविक भएको बताएका छन् । तर, कृत्रिम बुद्धिमत्ता विकास गर्ने कम्पनीहरूले सुरक्षित र जिम्मेवार ढंगले काम गर्नेमा विश्वस्त हुनुपर्ने उनको भनाइ छ ।
सानफ्रान्सिस्कोमा आयोजित एक कार्यक्रममा बोल्दै अल्टम्यानले कृत्रिम बुद्धिमत्ताका क्षमता तीव्र रूपमा बढेकाले यसबाट हुन सक्ने जोखिमबारे चिन्ता गर्नु उचित रहेको बताएका थिए । उनले आफू र आफ्नो कम्पनीले सही काम गर्नेमा विश्वस्त हुन आग्रह गरेका थिए ।
अल्टम्यानको भनाइ कृत्रिम बुद्धिमत्ताले आगामी दशकको अन्त्यसम्म मानव जातिलाई नै जोखिममा पार्न सक्ने चेतावनी सार्वजनिक भएपछि आएको हो । एन्थ्रोपिकका एक पूर्वअनुसन्धानकर्ताले यस्तो दाबी गरेपछि कृत्रिम बुद्धिमत्ताको सुरक्षा र नियमनबारे बहस चर्किएको छ ।
एन्थ्रोपिकका प्रमुख कार्यकारी दारियो अमोडेईले समेत कृत्रिम बुद्धिमत्ताको विकासको गति केही सुस्त बनाउनुपर्ने र सरकारले यस क्षेत्रमा नियमन गर्नुपर्ने बताएको बेलामा अल्टम्यानले भने कृत्रिम बुद्धिमत्ता कम्पनीहरू आफैँले सुरक्षित विकासका लागि आवश्यक नियम र मापदण्ड बनाउन सक्ने बताएका छन् ।
अल्टम्यानले कृत्रिम बुद्धिमत्ताको सुरक्षा क्षमता विकासभन्दा अगाडि राखिने र त्यसो गर्न नसक्ने अवस्था आए विकासको गति घटाउने वा रोक्ने बताएका थिए ।
एनभिडियाका प्रमुख जेन्सेन ह्वाङले पनि कृत्रिम बुद्धिमत्ताका नयाँ प्रविधि सार्वजनिक गर्ने वा नगर्ने निर्णय सम्बन्धित कम्पनीले नै गर्नुपर्ने बताएका छन् । उनका अनुसार सुरक्षा महत्वपूर्ण भए पनि त्यसलाई प्राविधिक रूपमा समाधान गर्न सकिन्छ। कुनै कम्पनीलाई आफ्नै उत्पादन सुरक्षित नभएको महसुस भए त्यसलाई सार्वजनिक नगर्नुपर्ने उनको भनाइ छ ।
तर, कृत्रिम बुद्धिमत्ता कम्पनीलाई आफैँले मात्र नियमन गर्न दिने विचारप्रति केही विज्ञले असहमति जनाएका छन्। एन्थ्रोपिकका सहसंस्थापक ज्याक क्लार्कले पूर्ण रूपमा नियमनविहीन क्षेत्रका रूपमा कृत्रिम बुद्धिमत्तालाई छाड्नु अत्यधिक जोखिमपूर्ण हुने बताएका छन् ।
यसैबीच, ओपनएआई, एन्थ्रोपिक र गुगलको डीपमाइन्डसहितका कम्पनीहरूबीच कृत्रिम बुद्धिमत्ताको सुरक्षा मापदण्ड निर्माणका लागि सहकार्यबारे छलफल भइरहेको जनाइएको छ । एन्थ्रोपिक प्रमुख अमोडेईले उद्योगका अन्य कम्पनीसँग सुरक्षित विकासका लागि साझा मापदण्ड र परीक्षण प्रणालीबारे संवाद भइरहेको बताएका छन् ।
यो पनि :
अल्टम्यान र मस्कले समेत तारिफ गरेको एन्थ्रोपिकका प्रमुखको एआई बारेको लेखमा के छ ?