• २०८३ भदौ ३१
  • 2026 September 16, Wednesday

सर्वदलीय बैठकबाट उच्चस्तरीय राजनीतिक संयन्त्र र संसदीय समिति बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले भोटेकोसी बाढीबारे दुई समिति बनाउने निर्णय गरको छ ।

बुधबार बसेको बैठकले संसद बहिर रहेका दलहरू र संसद्मा रहेका दलहरू रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइने भएको छ भने अर्को संसदीय समिति बनाउने निर्णय भएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्र रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा बनाइएको छ भने संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनमत पार्टी, जसपा नेपाल रहने छन् ।

खरेलले भने-‘दिगो रुपमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणको कुराको सन्दर्भमा छलफल गर्नको लागि रास्वपाका सभापति रवि लामिछाने संयोजक रहनुभएको यो उच्चस्तरीय राजनीतिक संयन्त्र कायमै रहने निर्णय भएको छ ।’

त्यस्तै, बैठकले संसदीय विशेष समिति बनाउन सभामुख डोलप्रसाद अर्याललाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकमा सभापति लामिछानेसहित कांग्रेस सभापति गगन थापा, नेकपा नेता माधवकुमार नेपाल, एमाले नेतृ पदमा अर्याल, नेकपा नेता बर्षमान पुन, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायतका नेताहरु उपस्थित रहेका थिए ।