• २०८३ असोज १
  • 2026 September 17, Thursday

बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले ५० हजार र ६ महिनासम्म आधा तलब दिने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ । बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाको कर्मचारी र कामदारहरु बेपत्ता छन् ।

प्राधिकरण अन्तर्गतमात्रै ४७ जना कर्मचारी र कामदारको वेपत्ता छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता भएका कर्मचारीरकामदारहरुको आश्रित परिवारलाई बेपत्ता खोजी कार्य गर्न, आफ्नो कुल धर्म अनुसारको सामाजिक संस्कार गर्न र जिवनयापन गर्नको लागि राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए ।

उनका अनुसार राहतको पहिलो प्याकेजमा तत्कालका लागि राहतस्वरूप बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारको नजिकको हकवालालाई प्रति कर्मचारी/कामदार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।

दोस्रोमा स्थायी कर्मचारीको नजिकको हकवालालाई प्राधिकरणबाट के कति क्षतिपूर्ति वा के रकम दिने भन्ने सम्बन्धमा अर्को निर्णय नभएसम्मका लागि वा भदौदेखि बढीमा ६ महिनाको लागि बेपत्ता भएका स्थायी कर्मचारीको नजिकको हकवालालाई बेपत्ता कर्मचारीको तहको शुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाह स्वरूप उपलब्ध गराउने निर्णय भएको छ ।

बैठकमा मन्त्री श्रेष्ठले बेपत्ता भएका कर्मचारी र कामदारको परिवार सरकारको जिम्मेवारी भएको बताए ।

“हामी एउटै परिवार हो । यो पैसाले यत्रो ठूलो दु:खको घाउ त निको पार्दैन, तर मल्हम लाउने काम गरोस्,” उनले भने ।