• २०८३ असोज १
  • 2026 September 17, Thursday

संविधान पुनर्लेखनका लागि उपेन्द्र यादवका तीन सुझाव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको समीक्षा, संशोधन तथा आवश्यकताअनुसार पुनर्लेखनका लागि सरकारसमक्ष तीनवटा सुझाव दिएका छन् ।

यादवले संविधानका सकारात्मक उपलब्धि संरक्षण गर्दै संघीयता, समानता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक गणतन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । उनले संविधान संशोधनको बहसलाई समग्र र निष्कर्षमुखी बनाउँदै व्यापक राष्ट्रिय संवाद, राजनीतिक सहमति र जनसहभागिताबाट अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।

दोस्रो, उनले संविधानमा रहेका संरचनात्मक कमजोरी, अधिकार तथा क्षेत्राधिकारसम्बन्धी विवाद, प्रदेश संरचनाका समस्या, सीमाङ्कन, निर्वाचन तथा न्याय प्रणालीका जटिलता समाधान गर्न राज्य पुनर्संरचना गर्नुपर्ने बताएका छन् । राष्ट्रिय तथा जातीय पहिचानलाई सम्मान गर्दै मधेशी, आदिवासी जनजाति, दलित, थारू, मुस्लिम, पिछडावर्ग, महिला तथा अन्य सीमान्तकृत समुदायको अपनत्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

तेस्रो, यादवले संविधान संशोधन तथा पुनर्लेखनको विषय राजनीतिक संवाद र सहमतिमार्फत टुंग्याउनुपर्ने बताएका छन् । उनले संघीयता, समानुपातिक समावेशिता, सुशासन, निर्वाचन प्रणाली, सामाजिक सुरक्षा तथा न्यायलाई सुदृढ गर्दै संघ, प्रदेश र स्थानीय तहबीच अधिकार तथा स्रोतको बाँडफाँटमा देखिएका कमजोरी सच्याउनुपर्ने बताएका छन् ।