• २०८३ असोज २
  • 2026 September 18, Friday

नर्विचलाई हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको चौथो चरणमा

काठमाडौँ । साविक विजेता म्यानचेस्टर सिटीले काराबाओ कपको तेस्रो चरणमा नर्विच सिटीलाई ५–० गोलले पराजित गर्दै चौथो चरणमा स्थान बनाएको छ । इतिहाद रंगशालामा गएराति भएको खेलमा सिटीले एकतर्फी प्रदर्शन गर्दै सहज जित निकालेको हो ।

सिटीको जितमा १७ वर्षीय फ्लोयड साम्बाले दुई गोल गरेका थिए । आफ्नो पहिलो खेलमै साम्बाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले २९औँ मिनेटमा हेडमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि रयान शेर्कीले गोल गर्दै घरेलु टोलीको अग्रता २–० बनाएका थिए ।

दोस्रो हाफ सुरु भएको केही मिनेटमै सिटीले तेस्रो गोल गर्‍यो । ४८औँ मिनेटमा पहिलो खेल खेलिरहेका एलानले गोल गर्दै टोलीको अग्रता ३–० मा पुर्‍याए । ५४औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरे। उनले करिब २० यार्ड टाढाबाट उत्कृष्ट प्रहार गर्दै बललाई गोलको कुनामा पुर्‍याएका थिए ।

खेलको अन्तिम मिनेटमा रायन म्याकआइडुले गोल गरेपछि सिटीले ५-० को शानदार जित सुनिश्चित गर्‍यो । नर्विचका मोहम्मद टुरेले ७४औँ मिनेटमा गोल गरे पनि उनी अफसाइड रहेको भन्दै गोल मान्य भएन । यो जितसँगै सिटीले काराबाओ कपको चौथो चरणमा स्थान बनाएको छ । अब उसले चौथो चरणमा ब्राइटनसँग घरेलु मैदानमा खेल्नेछ ।