काठमाडौं । जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर भएका मानिसको संख्या पहिलोपटक एक लाख नाघेको छ ।
जापानको स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशमा अहिले कम्तीमा १०० वर्ष उमेर पुगेका मानिसको संख्या १ लाख ७ हजार ६७७ पुगेको छ ।
यसमा महिलाको संख्या अत्यधिक छ । १०० वर्षभन्दा बढी उमेरका मानिसमध्ये करिब ९४ हजार ३०० महिला छन् भने पुरुषको संख्या करिब १३ हजार ४०० छ । अर्थात् यस उमेर समूहमा महिलाको हिस्सा करिब ८८ प्रतिशत रहेको छ ।
गत वर्षको तुलनामा १०० वर्ष वा सोभन्दा बढी उमेरका मानिसको संख्या करिब ८ हजारले बढेको हो । जापानमा वृद्ध जनसंख्या लगातार बढ्दै गएसँगै सय वर्षभन्दा बढी उमेर बाँच्ने मानिसको संख्या पनि प्रत्येक वर्ष बढिरहेको छ ।
जापानीहरूको लामो आयुका पछाडि स्वस्थ खानपान, दैनिक जीवनमा सक्रिय रहने बानी, सहज स्वास्थ्य सेवा र नियमित स्वास्थ्य परीक्षणजस्ता कारण महत्वपूर्ण रहेको बताइएको छ । जापानमा महिलाको आयु पुरुषको तुलनामा लामो हुनुमा जीवनशैलीको पनि भूमिका रहेको बताइएको छ । सो पुस्ताका पुरुषमा धूमपान र मदिरा सेवनको दर बढी थियो । उनीहरू औद्योगिक तथा शारीरिक श्रम हुने काममा पनि बढी संलग्न थिए, जसको दीर्घकालीन असर स्वास्थ्यमा परेको मानिन्छ ।
उमेर बढ्दै जाँदा सामाजिक सम्बन्धले पनि फरक पारेको देखिन्छ । अवकाशपछि वा जीवनसाथीको मृत्यु भएपछि धेरै पुरुष सामाजिक रूपमा एक्लिँदै गएको देखिए पनि महिलाहरू परिवार र समुदायसँग तुलनात्मक रूपमा बढी जोडिइरहेका थिए । यसले उनीहरूको सामाजिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको बताइएको छ ।
त्यस्तै, दोस्रो विश्वयुद्धको प्रभाव पनि जापानको अहिलेको वृद्ध जनसंख्याको लैंगिक संरचनासँग जोडिएको छ । युद्धका क्रममा जापानका करिब २३ लाख सैनिक मारिएका थिए, जसमध्ये अधिकांश पुरुष थिए । ठूलो संख्यामा पुरुषको मृत्यु भएपछि त्यस पुस्तामा महिलाको अनुपात बढेको थियो ।
तर लामो आयु भएका मानिसको संख्या बढिरहँदा जापानले अर्को ठूलो चुनौती जनसंख्या घट्ने समस्या भोगिरहेको छ । सन् २००८ मा करिब १२ करोड ८० लाख पुगेको जापानको जनसंख्या आगामी दशकमा तीव्र रूपमा घट्ने अनुमान गरिएको छ ।
सरकारी अनुमानअनुसार सन् २०७० सम्ममा जापानको जनसंख्या करिब ८ करोड ७० लाखमा झर्न सक्छ। यसको अर्थ केही दशकमा देशको जनसंख्या ४ करोडभन्दा बढीले घट्न सक्नेछ ।हाल जापानमा जन्मिने प्रत्येक एक बच्चाको तुलनामा करिब दुई जनाको मृत्यु भइरहेको छ । जन्मदर घट्नु र वृद्ध जनसंख्या बढ्नुले देशको काम गर्ने उमेर समूहमा प्रत्यक्ष असर पारेको छ । काम गर्ने मानिसको संख्या घट्दै जाँदा वृद्ध नागरिकका लागि सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र अन्य सरकारी खर्चको बोझ बढिरहेको छ ।
जापानी सरकारले लामो समयदेखि जन्मदर बढाउन विभिन्न कार्यक्रम तथा सुविधा अघि सार्दै आएको छ। तर ती प्रयासका बाबजुद जनसंख्या घट्ने क्रम रोकिएको छैन ।सन् २०२० देखि २०२५ सम्म पाँच वर्षको अवधिमा जापानको जनसंख्या करिब ३१ लाखले घटेको छ । सन् २०२० मा करिब १२ करोड ६१ लाख रहेको जनसंख्या सन् २०२५ मा घटेर करिब १२ करोड ३० लाखमा पुगेको थियो ।
सन् १९२० मा जनगणना सुरु भएयता यो जनसंख्यामा आएको सबैभन्दा ठूलो गिरावट भएको स्रोतले जनाएको छ। जनगणनाका तथ्यांकअनुसार समस्या देशका अधिकांश क्षेत्रमा फैलिएको छ । जापानका ४७ प्रान्तमध्ये ४५ प्रान्तमा सन् २०२५ मा जनसंख्या घटेको थियो भने दुई प्रान्तमा मात्र जनसंख्या बढेको थियो ।
यसरी जापान एकातिर सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने मानिसको संख्या बढिरहेको देशका रूपमा देखिएको छ भने अर्कोतिर जन्मदरमा कमी र जनसंख्या घट्ने चुनौतीसँग जुधिरहेको छ । वृद्ध जनसंख्याको बढ्दो हिस्सा र काम गर्ने जनशक्तिको घट्दो संख्या जापानको सामाजिक सुरक्षा तथा अर्थतन्त्रका लागि दीर्घकालीन चुनौतीका रूपमा देखिएको छ ।