• २०८३ असोज २
  • 2026 September 18, Friday

भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत सिफारिस 

काठमाडौँ। विभिन्न क्षेत्रमा विशेषज्ञता, उच्च प्राज्ञिक अनुभव तथा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका व्यक्तिहरूलाई सरकारले १३ मुलुकका लागि राजदूतमा सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले भारत, चीन र संयुक्त राज्य अमेरिकासहितका नियोगहरूमा नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा अब्बल छवि बनाएका व्यक्तिहरूलाई राजदूतका रूपमा अघि सारिएको छ। अब सरकारले प्रस्तावित राजदूतहरूको नामावली संसदीय सुनुवाइ समित समक्ष पठाउनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित देशबाट सहमति प्राप्त भएसँगै राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने कानुनी व्यवस्था छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा राजदूतमा सिफारिस भएका छन्। संयुक्त अधिराज्य (बेलायत) का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शम्शेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस गरिएको छ।

यसैगरी, जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।