काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणलाई नतिजामुखी ढंगले अघि बढाउँदै विद्युत सेवा थप भरपर्दो, गुणस्तरीय र ग्राहक केन्द्रित बनाउन निर्देशन दिएका छन् । प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलाई बुधबार पद तथा गोपनीयताको शपथ गराउँदै मन्त्री श्रेष्ठले राज्यका निकाय जनताका सेवक भएकाले सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए ।
मन्त्री श्रेष्ठले त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध भई पुनः सञ्चालनमा आएको विद्युत प्रणालीलाई दीगो र भरपर्दो बनाउन विशेष ध्यान दिन निर्देशन दिए । आगामी दिनमा विद्युतको माग र आपूर्तिको नियमित विश्लेषण तथा प्रक्षेपण गरी घरेलु, औद्योगिकलगायत सबै ग्राहकले २४सै घण्टा, सातै दिन र वर्षभर गुणस्तरीय तथा भरपर्दो विद्युत प्राप्त गर्ने अवस्था सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो ।
विषम परिस्थितिमा उपलब्ध स्रोत, साधन र जनशक्तिको पारदर्शी, मितव्ययी, दक्ष र उच्चतम उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई प्राधिकरणको कार्यसम्पादनको महत्वपूर्ण आधार बनाउन निर्देशन दिए ।
उनले विद्युत प्रसारण लाइन निर्माण तथा वितरण प्रणालीको सुधारलाई उच्च प्राथमिकतामा राख्न, रणनीतिक महत्वका आयोजनाको निर्माणलाई गति दिन तथा विपद्का कारण क्षतिग्रस्त विद्युत आयोजनाको पुनर्निर्माणमा अग्रसरता देखाउन पनि निर्देशन दिए ।
मन्त्रालय, प्राधिकरण तथा अन्य सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गरी राज्यका संरचनालाई थप बलियो, उत्तरदायी र परिणाममुखी बनाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो ।