सुरक्षाकर्मीलाई जलविद्युत् आईपीओमा २ प्रतिशत सहभागिता सुनिश्चित गरिने
  • २०८३ असोज ७
  • 2026 September 23, Wednesday

सुरक्षाकर्मीलाई जलविद्युत् आईपीओमा २ प्रतिशत सहभागिता सुनिश्चित गरिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयरमा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाइएको बताएका छन् ।

प्रतिनिधिसभामा बोल्दै मन्त्री श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीका क्रममा सुरक्षाकर्मीले गरेको खोज, उद्धार तथा पुनःस्थापनाको योगदानको सम्मानस्वरूप यस्तो व्यवस्था गर्न लागिएको बताए ।

यस्तै, बाढीमा ज्यान गुमाएका वा सम्पर्कविहीन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत र ६ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए ।

बाढी प्रभावित विद्युत् ग्राहकलाई भदौदेखि न्यूनतम बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने र नयाँ मिटर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ । १५ स्थानीय तहका प्रभावित ग्राहकलाई थप महसुल सहुलियत दिनेबारे पनि अध्ययन भइरहेको मन्त्री श्रेष्ठले बताए ।