काठमाडौँ। नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र भन्सार विभागबिच हालैको बाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल भएको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बुधबार भन्सार विभागका महानिर्देशक यमलाल भुषालसंग भेट गरी हालै रसुवामा गएको भिषण बाढीबाट अटोमोवाइल क्षेत्रमा भएको क्षतिका सम्बन्धमा विस्तृत छलफल गरेको हो।
उक्त छलफलमा नाडाका अध्यक्ष उप्रेतीले यही भाद्र १० गते रसुवा र टिमुरे लगायतका विभिन्न क्षेत्रमा गएको भिषण बाढीका कारण दसैँको सिजनलाई ध्यानमा राखी सयौँको संख्यामा चीनबाट आयातित सवारी साधनहरुमध्ये धेरै संख्यामा रसुवा नाकाबाट बाढीले बगाएको भन्दै पीडित पैठारीकर्ताहरुले सरकारकातर्फबाट पाउनुपर्ने राहत उपलब्ध गराइदिन आग्रह गरे।
छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लले चीनको सीमा भन्सार नखुलेका कारण चीनको सीमा क्षेत्रमा पाँचसय भन्दा बढी सवारी साधनहरु रोकिएको भन्दै त्यसको सहजीकरणका लागि अनुरोध गरे। त्यसैगरी, उनले अहिलेसम्म ११ सिटे विद्युतीय माइक्राबसहरु नछुटेको जानकारी दिँदै छुटाउन पहल गरिदिन समेत अनुरोध गरे।
छलफलमा विभागका महानिर्देशक भुषालले सरकारले पीडित व्यवसायीहरुका लागि के कस्ता सुविधा र सहुलियतहरु के कसरी दिने हो त्यसको मोडालिटिका सम्बन्धमा अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयबिच गृहकार्य भईरहेको जानकारी दिए ।