काठमाडा। ललितपुरको ग्वार्कोमा मुख्य कार्यालय रही युवा सि.ए.हरु तथा विभिन्न क्षेत्रमा आबद्ध दक्ष जनशक्तिद्वारा सञ्चालित फिनोभेटिभ ग्रुप प्रालिको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले आगामी ३ वर्षभित्र कम्पनीको पुँजी विस्तार गरी रु. ३० करोड पुर्याउने वित्तीय प्रक्षेपण पारित गरेको छ । हाल कम्पनीको जारी पुँजी १० करोड र चुक्ता पुँजी ४ करोड १६ लाख रुपैयाँ रहेको छ ।
सभामा कम्पनीका अध्यक्ष सन्तमान महर्जनले संस्थागत सुशासन, जिम्मेवार लगानी र दीर्घकालीन मूल्य सिर्जनालाई प्राथमिकतामा राखेर अघि बढ्न कम्पनीमा संचालक समितिका साथ–साथै व्यवस्थापन समिति तथा लगानी समिति रहेको बताए।
कार्यक्रममा कम्पनीका संचालक जनक तिवारीले वित्तीय अवस्था, प्रगति विवरण तथा भावी कार्ययोजना सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे ।
यसैगरी, कात्र्तिक १ गतेदेखि लागू हुने गरी प्रतिशेयर ५ रुपैयाँ प्रिमियम थप गरी १०५ रुपैयाँका दरले थप लगानी गर्न पाउने तथा क्यालिफाइड इन्स्टिच्युस्नल इन्भेष्टमेन्टको अनुमतिपत्र लिने प्रस्तावहरु पारित भएको छ । कम्पनीले पुँजी बजार, सेवामूलक तथा उत्पादनमूलक क्षेत्रमा जोखिम र प्रतिफलको मूल्याङ्कन गरी पोर्टफोलियो विविधीकरण गर्ने रणनीति लिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले फिनोभेटिभ ग्रुपले छोटो अवधिमै व्यवस्थित र पारदर्शी ढंगले आफ्नो आधार निर्माण गर्न सफल भएको बताए ।