• २०८३ असोज ९
  • 2026 September 25, Friday

ट्रम्प-सीबीच भेटवार्तामा ताइवान, कृत्रिम बुद्धिमत्ता र व्यापारबारे छलफल

काठमाडौँ । अमेरिका र चीनबीच व्यापार तथा प्रविधिलाई लिएर तनाव जारी रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ ।

भेटवार्तामा ताइवान, कृत्रिम बुद्धिमत्ता, व्यापार तथा दुई देशबीचको सम्बन्धलाई स्थिर बनाउने विषयमा छलफल भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सीले अमेरिकासँग ‘ताइवानको स्वतन्त्रता’को विरोध गर्न आग्रह गरेका छन् । उनले ताइवानको विषयलाई सावधानीपूर्वक व्यवस्थापन गर्न पनि अमेरिकालाई आग्रह गरेका छन् ।

सीले चीनको राष्ट्रिय एकता र क्षेत्रीय अखण्डताबारे चीनको धारणा स्पष्ट रहेको बताएका थिए । चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै राष्ट्रिय एकीकरणको पक्षमा रहेको बताउँदै आएको छ । ताइवान भने स्वशासित लोकतान्त्रिक व्यवस्थाअन्तर्गत सञ्चालन हुँदै आएको छ।

भेटवार्तामा कृत्रिम बुद्धिमत्ताको विषय पनि महत्वपूर्ण रूपमा उठेको थियो । सीले अमेरिका र चीन दुवैसँग कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा बलियो क्षमता रहेको भन्दै प्रतिस्पर्धासँगै सहकार्य बढाउनुपर्ने बताएका थिए ।

कृत्रिम बुद्धिमत्ताबाट उत्पन्न हुने जोखिम र फाइदाबारे निरन्तर संवाद गर्न तथा यसको गलत प्रयोग रोक्न दुवै देशले मिलेर काम गर्नुपर्ने उनको प्रस्ताव थियो । कृत्रिम बुद्धिमत्तामाथि मानिसको नियन्त्रण कायम रहनुपर्ने र यसको विकास मानव हितमा केन्द्रित हुनुपर्नेमा पनि सीले जोड दिएका थिए ।

राष्ट्रपति ट्रम्पले सीको भ्रमणलाई महत्वपूर्ण बताउँदै अमेरिका र चीनबीच आर्थिक तथा व्यापारिक वार्ता जारी राख्नुपर्नेमा जोड दिएका थिए । दुवै पक्षले निरन्तर संवादमार्फत थप राम्रो व्यापार सम्झौताको दिशामा अघि बढ्नुपर्ने उनको भनाइ थियो । कृत्रिम बुद्धिमत्ताका विषयमा पनि दुवै देशबीच संवाद र सहकार्य बढाउने विषयमा ट्रम्पले सहमति जनाएका थिए । उनले कृत्रिम बुद्धिमत्तालाई मानवताको भविष्यसँग जोडिएको महत्वपूर्ण प्रविधिका रूपमा उल्लेख गरेका थिए ।

सीले अमेरिका र चीनबीच रचनात्मक तथा रणनीतिक रूपमा स्थिर सम्बन्ध निर्माण गर्नुपर्ने बताएका थिए । सहकार्यलाई सम्बन्धको मुख्य आधार बनाउँदै प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्नुपर्ने र मतभेदलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो ।

हालै भएका आर्थिक तथा व्यापारिक वार्ताको उल्लेख गर्दै सीले सहकार्यका क्षेत्र विस्तार र विवादका विषय न्यूनीकरण गर्नुपर्ने बताएका थिए । समानता, पारस्परिक सम्मान र पारस्परिक लाभका आधारमा दुई देशले मतभेद समाधानको बाटो खोज्न सक्ने उनको धारणा थियो ।

दुवै नेताले ताइवान र कृत्रिम बुद्धिमत्ताबाहेक मध्यपूर्वको अवस्था, युक्रेन संकट तथा कोरियाली प्रायद्वीपका पछिल्ला घटनाक्रमबारे पनि विचार आदानप्रदान गरेका थिए । आगामी दिनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोगको आर्थिक नेताहरूको बैठक तथा जी-२० शिखर सम्मेलनको आयोजना गर्दा एकअर्कालाई सहयोग गर्ने विषयमा पनि दुवैबीच सहमति भएको जनाइएको छ ।

ट्रम्प र सीबीचको भेटवार्ता व्यापार, प्रविधि तथा अन्य रणनीतिक विषयमा दुई देशबीच संवाद जारी रहेका बेला भएको हो । भेटवार्तामा ताइवानजस्तो संवेदनशील विषयमा मतभेद कायम रहे पनि कृत्रिम बुद्धिमत्ता र व्यापारजस्ता क्षेत्रमा संवाद तथा सहकार्यलाई निरन्तरता दिने संकेत देखिएको छ ।