• २०८३ असोज १२
  • 2026 September 28, Monday

सुरक्षा माग गर्दै पूर्वप्रधानन्यायाधीश जबराले दिए प्रहरीमा निवेदन

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो तथा परिवारका सदस्यको शान्ति सुरक्षाका लागि थप सुरक्षा व्यवस्था मिलाइदिन प्रहरीसमक्ष निवेदन दिएका छन्। जबराको तर्फबाट उनका छोरा सचिन्द्रशमशेर जबराले आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन बुझाएका हुन्।

निवेदनमा पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएका सुरक्षा सम्बन्धी विषयका कारण आफू र परिवारको सुरक्षामा चूनौती बढेको उल्लेख गरिएको छ। राज्यका विभिन्न निकायमा निर्वाह गरेको जिम्मेवारी तथा प्रधानन्यायाधीशका रूपमा गरेका न्यायिक निर्णयका कारण आफूले थप असुरक्षा महसुस गरेको पनि निवेदनमा जनाइएको छ।

जबराले यसअघि केही सुरक्षा सम्बन्धी विषयमा प्रहरीबाट जानकारी पाएपछि आफ्नो सुरक्षा व्यवस्थाबारे थप ध्यान दिन आवश्यक देखिएको बताएका छन्। निवेदनमार्फत आफ्नो निवास, परिवारका सदस्य तथा जिउज्यानको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्न राज्यका सुरक्षा निकायसँग आग्रह गरिएको छ।

निवेदन प्राप्त भएसँगै जबराको सुरक्षाका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ।

यसअघि शनिबार राति प्रहरीले जबरालाई बाँसबारीस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्‍याएको थियो। प्रहरीले उनलाई ‘सुरक्षा थ्रेट’ सम्बन्धी सूचना प्राप्त भएकाले सुरक्षाका लागि नियन्त्रणमा लिएको बताउँदै आएको छ। करिब १० घण्टापछि आइतबार उनलाई परिवारको जिम्मा लगाएर घर पठाइएको थियो।

जबरा प्रक्राउको विषय संसदमा समेत उठेको छ।