• २०८३ असोज १७
  • 2026 October 03, Saturday

अमेरिकाको युद्ध रणनीति बनाउन मस्कसहित तीन जनालाई जिम्मेवारी

काठमाडौं । अमेरिकाले भविष्यमा हुने युद्धको बदलिँदो प्रविधि र सैन्य आवश्यकताको आकलन गर्न ‘प्रोजेक्ट मेरिडियन’ नामक नयाँ पहल सुरु गरेको छ ।

यसअन्तर्गत टेस्ला तथा स्पेसएक्सका प्रमुख एलन मस्क, रक्षा प्रविधि कम्पनी एन्ड्युरिलका सहसंस्थापक पामर लकी र अमेरिकाका पूर्व प्रतिनिधिसभा सभामुख न्युट गिङरिचलाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।

सीएनबीसीका अनुसार परियोजनाले आगामी १२० दिनभित्र अमेरिकी सेनालाई आगामी वर्ष तथा दशकमा आवश्यक पर्ने हतियार, प्रविधि र सैन्य क्षमताको पहिचान गर्नेछ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले भर्जिनियास्थित क्वान्टिकोमा आयोजित कार्यक्रममा परियोजनाको घोषणा गरेका हुन् । उनका अनुसार यसको उद्देश्य नयाँ रणनीति वा नीति बनाउनु नभई भविष्यमा अमेरिकाले नियन्त्रण कायम गर्नुपर्ने सम्भावित क्षेत्र र विकास गर्नुपर्ने सैन्य क्षमताको पहिचान गर्नु हो ।

परियोजनाले पृथ्वीको सतहमुनिदेखि चन्द्रमाभन्दा परसम्म सम्भावित युद्धक्षेत्रलाई ध्यानमा राख्नेछ । भविष्यमा आवश्यक पर्न सक्ने हतियार तथा सैन्य प्रणालीको पहिचान, विकास र परिचालनमा परियोजनाले ध्यान दिनेछ । पेन्टागनका प्राविधिक प्रमुख एमिल माइकलले परियोजनाको निगरानी गर्नेछन् भने मस्क, लकी र गिङरिच सहप्रमुख रहनेछन् । उनीहरूसँग सरकार, उद्योग, शैक्षिक क्षेत्र र नीतिसम्बन्धी विज्ञहरूको टोलीले काम गर्नेछ ।

मस्क र लकीलाई परियोजनामा महत्वपूर्ण भूमिका दिनुको कारण उनीहरूका कम्पनी अमेरिकी रक्षा विभागसँग ठूला सैन्य सम्झौतामा संलग्न हुनु पनि हो । स्पेसएक्सले अमेरिकी अन्तरिक्ष सेनाबाट हवाई खतराको निगरानी तथा लक्ष्य पहिचान गर्न सक्ने उपग्रह निर्माणका लागि ४ अर्ब १६ करोड अमेरिकी डलरको सम्झौता पाएको छ । त्यसअघि सैन्य उपग्रह सञ्चार सञ्जालका लागि २ अर्ब २९ करोड डलरको अर्को सम्झौता पनि गरेको थियो ।

लकीको कम्पनी एन्ड्युरिल स्वचालित हतियार तथा अन्य सैन्य प्रविधिमा काम गर्दै आएको छ । अमेरिकी मरिन कोरले सन् २०२५ मा उक्त कम्पनीलाई ड्रोनविरोधी प्रणालीका लागि ६४ करोड २० लाख डलरसम्मको सम्झौता दिएको थियो ।