• २०८३ कात्तिक १२
  • 2026 October 28, Wednesday

पोखरामाथि सुदूरपश्चिम रोयल्सको शानदार जित

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।

बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरालाई ६ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको १४६ रनको लक्ष्य पछाएको सुदूरपश्चिम रोयल्सले १६.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ५१ रन बनाएका थिए भने इशान पाण्डेले ३७ रन बनाएका थिए । त्यस्तै ब्रान्डन म्याकुलनले २२ रन बनाए भने सैफ जैबले १५ रनको योगदान दिएका थिए । त्यसैगरी पोखराका बलर शकिब अल हसन, मेहदी र धनन्जय लक्शानले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाउदै १४५ रन बनाएको थियो । पोखराका लागि अर्जुन घर्तिले शानदार ब्याटिंग गर्दै २५ बलमा अविजित ४० रन बनाएका थिए भने महेदी हसनले ३२, कुशल भुर्तेलले २१, शकिब अल हसनले १४ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर अनिल खरेलले ३ विकेट लिए भने हेमन्त धामी, स्कट कुगलाइन र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

यो सुदूरपश्चिम रोयल्सको दोस्रो खेलमा पहिलो जित हो । पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले कमब्याक गरेको छ । त्यस्तै पोखराले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

एनपीएल अन्तर्गत भोलि जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज तथा विराटनगर किंग्स र कर्णाली याक्सबीच खेल हुँदैछ ।