काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आधिकारिक राइड-हेलिङ पार्टनर बनेको छ । अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म आयोजना हुने नेपालको प्रतिष्ठित टी-२० क्रिकेट प्रतियोगितामा इनड्राइभले आधिकारिक राइड-हेलिङ पार्टनरका रूपमा सहकार्य गरेको छ ।
यस साझेदारीमार्फत इनड्राइभले नेपालमा आफ्नो उपस्थिति थप विस्तार गर्नुका साथै खेलकुद क्षेत्र र युवा पुस्तासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य राखेको छ । यात्रु र चालकबीचको आपसी सहमतिमा भाडा निर्धारण गर्ने प्रणालीमा आधारित इनड्राइभले निष्पक्षता, पारदर्शिता र छनोटको स्वतन्त्रतालाई प्राथमिकता दिँदै आएको छ । यी मूल्यहरू क्रिकेटको खेल भावना र एनपीएलको उद्देश्यसँग मेल खाने कम्पनीको विश्वास छ ।
प्रतियोगिता अवधिभर क्रिकेटप्रेमीहरूले इनड्राइभ एपमार्फत खेलस्थलसम्म आवतजावत गर्न सक्नेछन् । यात्रुले एपमा आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्न सक्नेछन् भने चालकले उक्त प्रस्ताव स्वीकार गर्न वा वैकल्पिक भाडा प्रस्ताव गर्न सक्नेछन् । यसरी दुवै पक्षको सहमतिमा यात्रा सुरु हुनुअघि नै भाडा निर्धारण गर्न सकिनेछ ।
दर्शकहरूको आवतजावतलाई थप सहज बनाउन इनड्राइभले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान परिसरमा निःशुल्क फ्यान सटल सेवा पनि गरि रहेको छ । उक्त सेवाअन्तर्गत गेट नम्बर २ नजिकै रहेको इनड्राइभ पिकअप स्टेसनबाट दर्शकहरूलाई उनीहरूका लागि तोकिएका प्रवेशद्वारसम्म पुर्याइनेछ ।
यातायात सुविधासँगै इनड्राइभले यस सिजन दर्शकहरूको अनुभवलाई थप मनोरञ्जनात्मक बनाउन विभिन्न गतिविधि पनि सञ्चालन गर्ने भएको छ । मैदान परिसरमा रहने इनड्राइभका एक्टिभेसन स्टलहरूमा दर्शकहरूले निःशुल्क स्लोगन कार्ड, चियरिङ स्टिक र फेस स्टिकर प्राप्त गर्न सक्नेछन् । साथै, इनड्राइभको मस्कटसँग तस्बिर खिचाउने, मनोरञ्जनात्मक खेलमा सहभागी हुने तथा दैनिक आकर्षक उपहार जित्ने अवसरसमेत पाउनेछन् ।
यसैगरी, प्रत्येक खेलमा क्यामेरामार्फत एक जना उत्साही दर्शकलाई ‘कुल फ्यान अफ द म्याच’ का रूपमा छनोट गरिनेछ । छनोट भएका दर्शकलाई इनड्राइभको तर्फबाट विशेष उपहार ह्याम्पर प्रदान गरिनेछ ।
इनड्राइभ नेपालकी मार्केटिङ म्यानेजर श्रेया मानन्धरले एनपीएलसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै भनिन्, “नेपालको लोकप्रिय क्रिकेट प्रतियोगिता एनपीएलसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ । क्रिकेटले देशभरका लाखौँ नेपालीलाई एउटै उत्साहमा जोड्ने काम गरेको छ । यस साझेदारीमार्फत हामी क्रिकेटप्रेमीहरूसँग अझ नजिक हुन चाहन्छौँ । साथै, दर्शकहरूलाई आपसी सहमतिमा तय गरिएको उचित भाडामा खेलस्थलसम्म पुग्न र फर्कन सहज बनाउने हाम्रो उद्देश्य हो ।”
उनले थपिन्, “इनड्राइभको सेवा प्रणाली निष्पक्षता, पारदर्शिता र छनोटको स्वतन्त्रतामा आधारित छ । यी मूल्यहरू क्रिकेटको खेल भावना र एनपीएलको मर्मसँग पनि मेल खान्छन् । यस सहकार्यमार्फत दर्शकहरूको यात्रालाई सहज बनाउनुका साथै मैदानमा उनीहरूको अनुभवलाई थप रोमाञ्चक र अविस्मरणीय बनाउन चाहन्छौँ ।”
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले इनड्राइभलाई एनपीएलको आधिकारिक राइड-हेलिङ पार्टनरका रूपमा स्वागत गर्दै भने, “नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा इनड्राइभलाई आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । समुदायलाई सशक्त बनाउने र सेवामा सहज पहुँच विस्तार गर्ने इनड्राइभको प्रतिबद्धता क्रिकेटमार्फत समावेशिता र खेल भावनालाई प्रवद्र्धन गर्ने हाम्रो उद्देश्यसँग मेल खान्छ । यस साझेदारीले प्रतियोगिताको व्यवस्थापनमा सहयोग पुग्नुका साथै दर्शकहरूको समग्र अनुभवलाई अझ उत्कृष्ट बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ ।”
एनपीएलसँगको यो साझेदारीलाई इनड्राइभले नेपालमा खेलकुद प्रवद्र्धन र समुदायसँगको सम्बन्ध विस्तार गर्ने आफ्नो प्रतिबद्धताको निरन्तरताका रूपमा लिएको छ । स्थानीय चालकहरूका लागि आम्दानीका अवसरसँगै यात्रुहरूलाई सहज र पारदर्शी यातायात विकल्प उपलब्ध गराउँदै आएको कम्पनीले यस सहकार्यबाट चालक, यात्रु तथा क्रिकेटप्रेमीहरूसँगको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरेको छ ।