काठमाडौँ। कुनै व्यक्तिले कुन विश्वविद्यालयबाट डिग्री प्राप्त गरेको छ भन्ने कुराले उसको शैक्षिक पृष्ठभूमि, विषयगत ज्ञान, अनुसन्धान क्षमता, व्यावसायिक दक्षता र भविष्यमा प्राप्त गर्न सक्ने अवसरहरूको मूल्याङ्कनमा प्रत्यक्ष प्रभाव पार्छ।
विश्वविद्यालयको विश्वव्यापी वरीयताले विश्वका विभिन्न देशमा रहेका विश्वविद्यालयहरूलाई निश्चित मापदण्ड, सूचक र तथ्याङ्कका आधारमा मूल्याङ्कन गरी उनीहरूको तुलनात्मक स्थान निर्धारण गर्छन्। यसले कुनै विश्वविद्यालय कति प्रतिष्ठित छ भन्ने कुरा मात्र देखाउँदैन, बरु त्यस विश्वविद्यालयको शिक्षण वातावरण, अनुसन्धानको स्तर, प्राज्ञिक प्रतिष्ठा, अन्तर्राष्ट्रिय सहकार्य, अनुसन्धान प्रकाशन, विद्यार्थी तथा प्राध्यापकको गुणस्तर, उद्योगसँगको सम्बन्ध र ज्ञान उत्पादनमा पुर्याएको योगदान समेत मापन गर्ने गर्छ।
विशेषगरी विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिने कलेजहरुको हकमा विश्वव्यापी वरीयताले विशेष महत्त्व राख्छ। तर आफूलाई ‘बेस्ट फरेन अफिलियटेड कलेज ईन काठमाण्डु’ भन्दै दाबी गर्ने मोडल ईन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले सम्बन्धन लिएको इन्टरनेश्नल अमेरिकन युनिभर्सिटी (आईएयू) भने प्रचलित कुनै पनि विश्वव्यापी युनिभर्सिटी र्याङ्किङ्सभित्र अटाएको छैन। अर्थात्, एमआईटी सम्बन्धन लिएको आईएयू गुणस्तरयुक्त विश्वविद्यालय नै होइन।
विश्वमा विश्वविद्यालयहरूको मूल्याङ्कन गर्ने विभिन्न अन्तर्राष्ट्रिय वरीयता प्रणालीहरू प्रचलनमा छन्। तीमध्ये क्वाक्वारेली साइमन्ड्सको क्यूएस वर्ल्ड युनिभर्सिटी र्याङ्किङ्स, टाइम्स हायर एजुकेसनको वर्ल्ड युनिभर्सिटी र्याङ्किङ्स र सांघाइ र्याङ्किङका रूपमा परिचित एकेडेमिक र्याङ्किङ अफ वर्ल्ड युनिभर्सिटिज सबैभन्दा बढी परिचित र अन्तर्राष्ट्रिय रूपमा सर्वस्वीकार्य प्रणालीहरू हुन्। यी तीन वटा प्रतिष्ठित र्याङ्किङ्सले प्रकाशित गर्ने वरियतामा आईएयू कतै पनि भेटिदैँन।
यी वरीयता प्रणालीहरूले शिक्षाको गुणस्तर तथा शैक्षिक प्रतिष्ठा, अन्तर्राष्ट्रिय स्वीकार्यता, पाठ्यक्रमको सान्दर्भिकता, अनुसन्धान उपलब्धि, रोजगारदाताको दृष्टिकोण, ‘पास आउट’ हुने विद्यार्थीहरुको सीप तथा ज्ञानको क्षमता लगायतका आधारमा र्याङ्किङ सार्वजनिक गर्ने गर्दछन्। त्यसैले यी तीनवटै प्रणालीले सार्वजनिक गर्ने र्याङ्किङ विश्वविद्यालयको अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर तथा अनुसन्धान क्षमता बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्दछन्। तर, यी तीन वटा र्याङ्किङ्सले तय गरेका मापदण्डको स्तर भित्र नपर्ने भएकाले आईयुलाई कुनै पनि र्याङ्किङ्सले समेटेका छैनन्।
वरीयतामा राम्रो स्थान प्राप्त गर्ने विश्वविद्यालयमा शैक्षिक तथा संस्थागत क्षमता तुलनात्मक रूपमा विकसित रहेको मानिन्छ।
उच्च वरीयताका विश्वविद्यालयहरूले विद्यार्थीलाई फरक शैक्षिक दृष्टिकोण, सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्ने अवसर प्रदान गर्दछन्। त्यस्ता विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले आफ्नो विषयसँग सम्बन्धित नवीनतम अनुसन्धान, विश्वव्यापी अभ्यास र प्रविधिमा भइरहेको परिवर्तनबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्छन्। फलस्वरूप विद्यार्थीको आलोचनात्मक सोच, समस्या समाधान गर्ने क्षमता, अनुसन्धान गर्ने सीप र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता विकास हुन सक्छ। यसले विद्यार्थीलाई अध्ययन समाप्त गरेपछि बदलिँदो श्रम बजारमा अनुकूल हुन आवश्यक ज्ञान र सीप प्राप्त गर्न सहयोग पुर्याउँछ। त्यसैले विश्वविद्यालयको वरियतालाई शैक्षिक गुणस्तरको एउटा महत्त्वपूर्ण संकेतका रूपमा लिन सकिन्छ।
ठूला बहुराष्ट्रिय कम्पनी, अन्तर्राष्ट्रिय बैंक, वित्तीय संस्था, सूचना प्रविधि कम्पनी, परामर्शदाता संस्था, स्वास्थ्य क्षेत्रका कम्पनी, इन्जिनियरिङ कम्पनी र अनुसन्धान केन्द्रहरूले विभिन्न देशबाट दक्ष जनशक्ति छनोट गर्दा कुन विश्वविद्यालयबाट डिग्री हासिल गरेको हो र सो विश्वविद्यालय वल्र्ड र्याङ्किङको कुन स्थानमा छ भन्ने कुरालाई गम्भीरतापूर्वक हेर्ने गर्छन् । यस्तोमा यी र्याङ्किङ्समा नपर्ने विश्वविद्यालबाट पास आउट विद्यार्थीले र्याङ्किङ्समा पर्ने विश्वविद्यालबाट पास आउट विद्यार्थीको तुलनामा रोजगारदाता कम्पनीहरुको कम प्राथमिकतामा पर्छन्।
यसबाहेक, विश्वविद्यालयको अन्तर्राष्ट्रिय वरीयताले एकेडेमिक समुदायमा त्यस संस्थाको पहिचान र विश्वसनीयतामा पनि प्रभाव पार्छ। यस्तोमा ब्याचलर सकेको कुनै विद्यार्थी छ र उ मास्टर्स पढ्न विदेश जान चाहन्छ र कुनै विश्वविद्यालयमा अप्लाई गर्दछ भने सो विश्वविद्यालयले सो विद्यार्थी कुन विश्वविद्यालयबाट पास आउट भएको रहेछ भनेर हेर्दछ। यदि उक्त विद्यार्थीले अन्तर्राष्ट्रिय वरीयतामा राम्रो स्थान प्राप्त गरेको विश्वविद्यालयबाट डिग्री हासिल गरेको छ भने उसले भर्ना पाउने र छात्रवृत्ति पाउने सम्भावना उच्च रहन्छ। तर र्याङ्किङ्मै नभएका विश्वविद्यालयबाट पास आउट विद्यार्थीले छात्रवृत्ति पाउने सम्भावना निकै कम त रहन्छ नै कतिपय अवस्थामा भर्ना पाउन नै सकिँदैन।
त्यसैले नेपालबाट उच्च शिक्षा हासिल गरेर थप अध्ययन वा रोजगारीका लागि विदेश जाने टे्रन्ड बढिरहेको सन्दर्भमा आफूले अध्ययन गरेको कलेजले सम्बन्धन लिएको विश्वविद्यालयको र्याङ्किङले समग्र करियरमै ठूलो प्रभाव पार्ने गर्छ।
तर विश्व र्याङ्किङ्मै नअटाएको कम गुणस्तरको विश्वविद्यालयको सम्बन्धन लिएको एमआईटी कलेजले भने आफूलाई काठमाडौँकै सर्वोत्कृष्ट कलेजका रुपमा दाबी गर्न छाडेको छैन। विद्यार्थीहरु समेत यस्ता कुराहरुबारे समयमै पर्याप्त जानकारी नुहँदा कलेजको ‘स्मार्ट’ प्रचारको पासोमा पर्ने गरेका छन्। यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने एमआईटीबाट पास आउट हुने विद्यार्थीले उसले सम्बन्धन लिएको युनिभर्सिटीको कमजोर स्तरका कारण अन्य राम्रा युनिभर्सिटीबाट पास आउट विद्यार्थी झैँ प्राथमिकता नै पाउँदैनन्। त्यसैले, एमआईटी जस्ता कमसल युनिभर्सिटीको सम्बन्धन लिएर सञ्चालित कलेजमा भर्ना हुनुअघि विद्यार्थीले निकै विचार गर्न आवश्यक छ।
यो पनि : अमेरिकन डिग्रीको लोभमा एमआईटीले यसरी झुक्याउँछ विधार्थी, डिग्रीको मान्यतामै गम्भीर प्रश्न