• २०८३ कार्तिक २३
  • 2026 November 09, Monday

मानव शरीरको औसत तापक्रम किन घट्दै गइरहेको छ?

१५० वर्षअघि मानिसको शरीरको औसत तापक्रम अहिलेको भन्दा बढी रहेको देखिन्छ। यसको वास्तविक कारण के हो भन्नेबारे वैज्ञानिकहरूले अझै अध्ययन गरिरहेका छन्।

सन् १८६० को दशकमा जर्मन चिकित्सक कार्ल वन्डरलिच एउटा महत्त्वपूर्ण प्रश्नको जवाफ खोजिरहेका थिए। ज्वरो आफैँमा एउटा रोग हो कि शरीरमा रहेको अर्को रोगको लक्षण मात्र हो?

त्यतिबेला थर्मोमिटरको नियमित प्रयोग हुँदैनथ्यो। यस्तो अवस्थामा वन्डरलिचले एउटा महत्त्वाकांक्षी काम सुरु गरे। उनले १५ वर्षसम्म विभिन्न उमेर र लिङ्गका २५ हजार बिरामीको काखीमा शरीरको तापक्रम नापे। यस क्रममा उनले १० लाखभन्दा बढी पटक तापक्रम मापन गरे।

यति ठूलो तथ्यांकका आधारमा वन्डरलिचले स्वस्थ वयस्क मानिसको औसत शरीरको तापक्रम ३७ डिग्री सेल्सियस (९८.६ डिग्री फरेनहाइट) रहेको निष्कर्ष निकाले। यही तापक्रमलाई सामान्य मानव शरीरको तापक्रम मापन गर्ने आधार मानियो। उनका अनुसार शरीरको तापक्रम ३८ डिग्री सेल्सियस (१००.४ डिग्री फरेनहाइट) भन्दा माथि पुगेमा ज्वरो आएको संकेत मानिन्थ्यो।

अन्य व्यक्तिहरू पनि यसअघि नै यही निष्कर्षमा पुगेका थिए। तर वन्डरलिचले संकलन गरेको तथ्यांक निकै ठूलो भएकाले उनले निर्धारण गरेको तापक्रमले विश्वव्यापी रूपमा रोग पहिचान गर्ने आधारका रूपमा विशेष महत्त्व पाएको अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयका चिकित्सा इतिहासकार तथा संक्रामक रोग विशेषज्ञ फिलिप म्याक्कोवियाकले बताएका छन्।

तर पछिल्ला अनुसन्धानहरूले विगत डेढ सय वर्षमा मानव शरीरको सामान्य औसत तापक्रम पनि परिवर्तन भएको देखाएका छन्। के सुरुमा निर्धारण गरिएको तापक्रम नै गलत थियो? वा, तीव्र गतिमा परिवर्तन भइरहेको संसारले हाम्रो शरीरको जैविक संरचनामा पनि परिवर्तन ल्याइरहेको छ?

घट्दै शरीरको तापक्रम

स्ट्यानफोर्ड विश्वविद्यालयकी संक्रामक रोग विशेषज्ञ जुली पार्सोनेटका अनुसार वन्डरलिचले शरीरको तापक्रममा हुने भिन्नताबारे हामीले अहिले थाहा पाएका धेरै कुराको आधार तयार पारेका थिए।

वन्डरलिचले संकलन गरेको तथ्यांक मुख्यतः लाइपजिग अस्पतालका श्रमिक वर्गका बिरामीहरूबाट लिइएको थियो। उनी त्यस अस्पतालका मेडिकल निर्देशक थिए।

यस तथ्यांकबाट उनले सामान्य शरीरको तापक्रम सबै मानिसमा एकनासको नहुने पत्ता लगाए। महिलाको शरीरको तापक्रम पुरुषको भन्दा बढी हुने, उमेर बढ्दै जाँदा तापक्रम घट्ने र दिनको समय अनुसार पनि तापक्रम परिवर्तन हुने उनले पत्ता लगाएका थिए।

तर अहिलेको औसत व्यक्तिको शरीरको तापक्रम १५० वर्षअघिका मानिसको तुलनामा कम रहेको पनि प्रमाणित भएको छ। अमेरिकाका पुरुषहरूको शरीरको तापक्रम १९औँ शताब्दीको सुरुवातको तुलनामा करिब ०.५९ डिग्री सेल्सियस कम भएको छ।

एक दशकअघि पार्सोनेटको टोलीले अमेरिकाका करिब १ लाख ९० हजार मानिसको शरीरको तापक्रमसम्बन्धी तीनवटा ठूला तथ्यांक समूहको विश्लेषण गरेको थियो। यी तथ्यांक सन् १८६२ देखि २०१७ सम्म संकलन गरिएका थिए।

उनले भनिन्, “वयस्क मानिसको नयाँ सामान्य तापक्रम ९७.५ डिग्री फरेनहाइट (३६.३९ डिग्री सेल्सियस) को नजिक देखिन्छ।”

यसअघि र त्यसपछि गरिएका धेरै अनुसन्धानले पनि पार्सोनेटको निष्कर्षलाई समर्थन गरेका छन्।

स्विट्जरल्यान्डको जुरिच विश्वविद्यालयका जैविक मानवशास्त्री एड्रियन याग्गीका अनुसार शरीरको तापक्रम घट्ने यो प्रवृत्ति विकसित देशका मानिसमा मात्र सीमित छैन।

अमेजनको वर्षावनमा बसोबास गर्ने अर्धघुमन्ते आदिवासी समुदाय त्सिमानेसका मानिसको औसत शरीरको तापक्रम सन् २००० को सुरुवातमा करिब ३७ डिग्री सेल्सियस रहने गरेको थियो। तर दुई दशकको तीव्र सामाजिक तथा आर्थिक परिवर्तनपछि सन् २०१८ मा उनीहरूको औसत तापक्रम घटेर ३६.५ डिग्री सेल्सियस (९७.७ डिग्री फरेनहाइट) पुगेको थियो।

शरीरको औसत तापक्रम किन घटेको छ?

अहिले मानिसको शरीरको औसत तापक्रम घट्नुका पछाडि केही सम्भावित कारण हुन सक्छन्।

उदाहरणका लागि, पार्सोनेटका अनुसार यसको एउटा कारण समग्र जनसंख्याको स्वास्थ्यमा आएको सुधार हो। वन्डरलिचको समयमा मानिसको औसत आयु ३८ वर्ष थियो। अहिले यो लगभग दोब्बर भएको छ।

पार्सोनेट भन्छिन्, “त्यतिबेला मानिसहरू अहिले हामीले बाँचिरहेको जस्तो स्वस्थ जीवन बिताउँदैनथे। उनीहरूमा क्षयरोग, दाँतको खराब अवस्था, आउँ, बाथज्वरो र हड्डीको संक्रमणजस्ता धेरै समस्या हुन्थे। जब हाम्रो रोग प्रतिरोधात्मक प्रणालीले शरीरलाई मार्न सक्ने यस्ता सबै समस्याविरुद्ध लड्नुपर्छ, त्यसका लागि क्यालोरी खर्च हुन्छ। क्यालोरी भनेको अर्को अर्थमा ताप ऊर्जा पनि हो।”

यस्तै, याग्गीका अनुसार त्सिमानेस समुदायमा पनि खोप र सरसफाइमा आएको सुधारले स्वास्थ्य अवस्था राम्रो बनाएको छ।

उनका अनुसार अहिले २० वर्षअघिको तुलनामा शौचालयको प्रयोग र जुत्ता लगाउने चलन पनि बढेको छ। यसले दूषित माटोमा खाली खुट्टा हिँड्दा लाग्ने हुकवर्म (एक प्रकारको परजीवी किरा) संक्रमण घटाएको छ।

अहिले घरभित्रको तापक्रम नियन्त्रण गर्न पनि पहिलेभन्दा सजिलो भएको छ। अमेरिकाका कम्तीमा ८८ प्रतिशत घरमा एयर कन्डिसन सुविधा छ। बेलायतका पनि लगभग त्यति नै घरमा केन्द्रीय ताप प्रणाली (सेन्ट्रल हिटिङ) उपलब्ध छ।

पार्सोनेट भन्छिन्, “हाम्रो जीवनको अधिकांश समय एकदमै अनुकूल तापक्रम भएको वातावरणमा बित्छ। यसलाई तापीय तटस्थ क्षेत्र भनिन्छ, जहाँ शरीरको तापक्रम कायम राख्न हामीले अतिरिक्त प्रयास गर्नुपर्दैन।”

उनले थपिन्, “जब शरीरले तापक्रम कायम राख्न अतिरिक्त मेहनत गर्नुपर्दैन, तब ऊर्जा उत्पादन पनि कम हुन्छ र ताप पनि कम उत्पन्न हुन्छ।”

के वन्डरलिचको निष्कर्ष गलत हुन सक्छ?

तर म्याक्कोवियाकको विचारमा शरीरको औसत तापक्रम घट्नुको कारण अर्कै पनि हुन सक्छ।

उनले वन्डरलिचले प्रयोग गरेको एउटा सिसाको थर्मोमिटर प्रत्यक्ष रूपमा जाँच्ने अवसर पाएका थिए। त्यसबेला उनले उक्त थर्मोमिटरको मापन प्रणाली आधुनिक थर्मोमिटरको तुलनामा करिब २ डिग्री सेल्सियस बढी देखाउने गरी मिलाइएको पत्ता लगाए।

यसको अर्थ उक्त थर्मोमिटरबाट गरिएको तापक्रम मापन वास्तविक तापक्रमभन्दा २ डिग्री सेल्सियस बढी देखिन्थ्यो।

म्याक्कोवियाकका अनुसार त्यतिबेला शरीरको तापक्रम मापन गर्नु निकै झन्झटिलो काम थियो।

करिब एक फिट लामो पारो भएको सिसाको थर्मोमिटरलाई सुरुमा उम्लिरहेको पानी र जमिरहेको बरफजस्ता निश्चित तापक्रमका आधारमा मिलाउनुपर्थ्यो।

त्यसपछि बिरामीलाई १५ देखि २० मिनेटसम्म नचलिकन सुत्नुपर्थ्यो।

उनले भने, “ती थर्मोमिटरमा तापक्रम देखिन केही समय लाग्थ्यो।”

यसको अर्थ वन्डरलिचले निर्धारण गरेको तापक्रम सुरुदेखि नै त्रुटिपूर्ण हुन सक्छ। उनले आजकल बढी प्रयोग हुने मुखबाट तापक्रम नाप्ने विधिको सट्टा काखीमा तापक्रम नापेका थिए। त्यसैले उनका मापनलाई अहिलेका मापनसँग तुलना गर्न पनि कठिन छ।

तर पार्सोनेट भने वन्डरलिचले शरीरको तापक्रम बढी देखाउनुको कारण थर्मोमिटरको गलत मापन प्रणाली हो भन्ने मान्दिनन्।

उनी र उनको टोलीले सन् १८६२ देखि १९३० सम्मका अमेरिकी गृहयुद्धमा सहभागी सैनिकका शरीरको तापक्रमसम्बन्धी तथ्यांक विश्लेषण गर्दा पहिले जन्मिएका मानिसको औसत शरीरको तापक्रम पछि जन्मिएकाहरूको भन्दा बढी रहेको पाएका थिए।

उनले भनिन्, “हामीले फरक-फरक वर्षमा जन्मिएका तर एउटै समयमा तापक्रम मापन गरिएका मानिसहरू र एउटै वर्षमा जन्मिएका तर फरक-फरक समयमा तापक्रम मापन गरिएका मानिसहरूको तुलना गर्‍यौँ। यसरी हामीले उपकरणको प्रभावलाई उमेर र जन्मवर्षको प्रभावबाट छुट्याउन सक्यौँ।”

पार्सोनेटको टोलीले त्यसपछि अन्य दुईवटा आधुनिक तथ्यांक समूहको अध्ययन गर्दा पनि शरीरको तापक्रममा यस्तै गिरावट देखेपछि उनीहरूको निष्कर्ष अझ बलियो भयो।

यी तथ्यांक सन् १९७१ देखि २०१७ सम्म संकलन गरिएका थिए। यसमा प्रयोग गरिएका थर्मोमिटरको मापन प्रणाली पनि लगभग समान रहेको अपेक्षा गरिएको थियो।

शरीरको तापक्रमको नयाँ मापदण्ड

के यी सबै तथ्यले ३७ डिग्री सेल्सियस (९८.६ डिग्री फरेनहाइट) लाई सामान्य शरीरको तापक्रमको विशेष मापदण्ड मान्ने चलनमा पुनर्विचार गर्नुपर्ने देखाउँछन्?

केही संस्थाले यसबारे पहिले नै पुनर्विचार गरिसकेका छन्। चिकित्सकहरूले व्यापक रूपमा प्रयोग गर्ने दुई आधिकारिक स्रोतमा पनि यसलाई समेटिएको छ। तीमध्ये एउटा पुस्तक ‘ह्यारिसन्स प्रिन्सिपल्स अफ इन्टरनल मेडिसिन’ र अर्को अनलाइन डाटाबेस ‘अपटुडेट’ हुन्।

आफ्नो शरीरको तापक्रमको एउटा आधारभूत मापदण्ड थाहा हुनु उपयोगी हुन सक्छ। तर धेरै विज्ञहरूले एउटा मात्र निश्चित तापक्रमलाई अत्याधिक महत्त्व नदिन सुझाव दिएका छन्।

याग्गी भन्छन्, “यस्ता सीमालाई धेरै गम्भीरतापूर्वक लिनु हुँदैन, किनभने यी कुनै स्पष्ट र कडा सीमा होइनन्। उदाहरणका लागि, ३६.९९ डिग्री सेल्सियस र ३७.०१ डिग्री सेल्सियसको तापक्रममा कुनै ठूलो अन्तर हुन्छ भनेर कसैले पनि तर्क गर्दैन।”

यद्यपि, शरीरको तापक्रम अत्याधिक घट्दा वा बढ्दा भने शरीरमा कुनै गम्भीर समस्या भइरहेको संकेत हुन सक्छ।

वयस्क मानिसमा सामान्यतया तापक्रम ३५ डिग्री सेल्सियस (९६ डिग्री फरेनहाइट) भन्दा कम हुनु वा ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) भन्दा बढी हुनु चिन्ताको विषय मानिन्छ।

(बीबीसीबाट)