• २०८३ कार्तिक २६
  • 2026 November 12, Thursday

मदिरा सेवन गरेपछि किन बोली लरबराउँछ?

मदिरा सेवनपछि मानिसको बोली लरबराउनु सामान्य दृश्य हो। सामान्य अवस्थामा स्पष्ट र सहज रूपमा बोल्ने मानिसले समेत मदिरा सेवन गरेपछि शब्द तान्ने, अक्षर बिगार्ने, एउटै शब्द पटक-पटक दोहोर्‍याउने र आफूले भन्न खोजेको कुरा स्पष्ट रूपमा व्यक्त गर्न नसक्ने हुन्छन्। कतिपय अवस्थामा बोली यति अस्पष्ट हुन्छ कि नजिकै रहेका व्यक्तिले समेत कुरा बुझ्न कठिन हुन्छ।

तर मदिरा सेवनपछि बोली किन लरबराउँछ? के रक्सीले जिब्रोलाई मात्र असर गर्छ कि यसको पछाडि मस्तिष्क र स्नायु प्रणालीको पनि भूमिका हुन्छ?

चिकित्सक तथा वैज्ञानिक अनुसन्धानका अनुसार मदिरा सेवनपछि बोली लरबरिनुको मुख्य कारण मस्तिष्कको सञ्चार प्रणाली र शरीरका मांसपेशीबीचको समन्वय कमजोर हुनु हो। मदिराले मस्तिष्कको काम गर्ने गति र क्षमता प्रभावित पार्दा बोल्नका लागि आवश्यक जिब्रो, ओठ, मुख र स्वरयन्त्रको सञ्चालनसमेत प्रभावित हुन्छ।

अमेरिकाको राष्ट्रिय मदिरा दुरुपयोग तथा मद्यपानसम्बन्धी अनुसन्धान संस्थाका अनुसार मदिराले मस्तिष्कका सञ्चार मार्गमा हस्तक्षेप गर्छ। यसले सन्तुलन, स्मरणशक्ति, बोली र निर्णय क्षमतासँग सम्बन्धित मस्तिष्कका भागलाई सामान्य रूपमा काम गर्न कठिन बनाउँछ। संस्थाले मदिराको प्रभावले मानिसको सोच्ने र शरीरलाई समन्वय गर्ने क्षमतासमेत कमजोर हुने उल्लेख गरेको छ।

न्युयोर्क प्रेस्बिटेरियन अस्पतालका चिकित्सक डा. ह्युग केहिलले मदिराले मस्तिष्कका विभिन्न भागमा रहेका स्नायुग्राहीमा असर गर्ने र विशेषगरी सेरेबेलममा पर्ने प्रभावले बोली लरबरिने तथा शरीरको समन्वय बिग्रिने बताउँछन्।

डा केहिलले भने, “मदिराले सेरेबेलममा रहेका गाबा स्नायुग्राहीमा असर गर्दा यस्तो समस्या देखिन्छ।”

मस्तिष्कले जिब्रोलाई दिने निर्देशनमा पर्छ असर

मानिसले बोल्दा मस्तिष्कले एकैपटक धेरै काम गरिरहेको हुन्छ। आफूले भन्न खोजेको कुरा सोच्ने, त्यसका लागि उपयुक्त शब्द छान्ने, शब्दलाई आवाजमा बदल्ने र जिब्रो, ओठ तथा मुखका मांसपेशीलाई आवश्यक निर्देशन दिने काम मस्तिष्कले गर्छ।

मदिरा सेवनपछि यही प्रक्रियामा अवरोध उत्पन्न हुन्छ। मदिरा रगतमा मिसिएर मस्तिष्कसम्म पुग्छ र स्नायु कोषबीच सूचना आदानप्रदान गर्ने प्रक्रियालाई प्रभावित पार्छ। यसले गर्दा मस्तिष्कबाट मांसपेशीसम्म पुग्ने निर्देशनको गति र समन्वय कमजोर हुन सक्छ।

बोली स्पष्ट बनाउन जिब्रोले निश्चित समयमा निश्चित स्थानमा पुग्नुपर्छ। ओठले पनि शब्दअनुसार आकार परिवर्तन गर्नुपर्छ। तर मदिराको प्रभावमा यी गतिविधिबीचको तालमेल बिग्रन्छ। फलस्वरूप मानिसले भन्न खोजेको शब्द सही रूपमा उच्चारण गर्न सक्दैन।

यसमा मस्तिष्कको पछिल्लो तल्लो भागमा रहेको सेरेबेलमको महत्त्वपूर्ण भूमिका हुन्छ। यसले शरीरको सन्तुलन र मांसपेशीबीचको समन्वय कायम राख्छ। मदिराले यस भागको कार्यक्षमतामा असर गर्दा मानिसको हिँडाइ असन्तुलित हुने, हातखुट्टाको चाल बिग्रने र बोलीसमेत अस्पष्ट हुने गर्छ।

वैज्ञानिक अनुसन्धानले के देखायो

मदिरा सेवनले मानिसको बोलीमा कस्तो परिवर्तन ल्याउँछ भन्ने विषयमा विभिन्न वैज्ञानिक अध्ययन भएका छन्।

सन् १९८९ मा ‘अल्कोहोलिज्म, क्लिनिकल एन्ड एक्सपेरिमेन्टल रिसर्च’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित डेभिड बी पिसोनी र क्रिस्टोफर एस मार्टिनको अनुसन्धानले मदिरा सेवनअघि र पछिको बोलीको तुलना गरेको थियो।

अनुसन्धानमा सहभागी व्यक्तिहरूलाई मदिरा सेवनअघि र सेवनपछि वाक्यहरू पढ्न लगाएर उनीहरूको आवाज र उच्चारणको विश्लेषण गरिएको थियो। अध्ययनमा मदिरा सेवनपछि बोलीको अवधि लम्बिने, उच्चारणमा त्रुटि देखिने र केही व्यञ्जन ध्वनि प्रस्ट उच्चारण गर्न कठिन हुने पाइएको थियो।

अनुसन्धानकर्ताहरूका अनुसार मदिराले बोली उत्पादनका लागि आवश्यक मांसपेशीको सूक्ष्म नियन्त्रण, आवाज निकाल्ने प्रक्रिया र श्वासप्रश्वासबीचको समन्वयलाई कमजोर बनाउँछ। विशेषगरी जिब्रो र मुखका मांसपेशीको सही सञ्चालन आवश्यक पर्ने ध्वनि उच्चारणमा यसको प्रभाव देखिएको थियो।

त्यस्तै, सन् २०१४ मा मनोभाषाविज्ञानसम्बन्धी अनुसन्धान जर्नलमा प्रकाशित अर्को अध्ययनले पनि मदिरा सेवनपछि बोलीमा आउने परिवर्तनबारे परीक्षण गरेको थियो।

हंगेरीका सहभागीलाई जिब्रो अल्झिने खालका कठिन शब्द तथा वाक्य उच्चारण गर्न लगाएर गरिएको उक्त अध्ययनमा मदिरा सेवन गरेको र नगरेको अवस्थामा उनीहरूको बोलीको तुलना गरिएको थियो। अनुसन्धानले मदिरा सेवनपछि शब्द उच्चारण गर्दा हुने गल्तीको प्रकृति र संख्यामा परिवर्तन आउन सक्ने देखाएको थियो।

यी अध्ययनले मदिराको प्रभावले मानिसको बोली केवल सुस्त हुने मात्र नभई शब्द उच्चारण गर्ने क्षमतासमेत प्रभावित हुने पुष्टि गर्छन्।

किन कसैको बोली धेरै लरबरिन्छ, कसैको कम?

मदिरा सेवन गरेका सबै व्यक्तिको बोली समान रूपमा लरबरिँदैन। कसैलाई थोरै मदिरा सेवन गर्दा नै बोल्न कठिन हुन्छ भने कसैले बढी सेवन गरेपछि मात्रै त्यस्तो प्रभाव देखाउँछन्।

यसमा सेवन गरेको मदिराको मात्रा, कति छिटो सेवन गरिएको हो, शरीरको बनावट, खानपान र मदिरा प्रशोधन गर्ने शरीरको क्षमताले प्रभाव पार्छ।

खाली पेटमा मदिरा सेवन गर्दा रगतमा मदिराको मात्रा छिटो बढ्न सक्छ। छोटो समयमा धेरै मदिरा सेवन गर्दा मस्तिष्कमा यसको प्रभाव तीव्र हुन सक्छ। त्यसैगरी निद्रा लगाउने औषधि वा स्नायु प्रणालीलाई दबाउने अन्य पदार्थसँग मदिरा सेवन गर्दा जोखिम थप बढ्छ।

अमेरिकी अनुसन्धान संस्थाका अनुसार मानिसले आफूमा नशाको प्रभाव महसुस गर्नुअघि नै निर्णय क्षमता र सवारी चलाउँदा आवश्यक पर्ने सीप कमजोर हुन थाल्छन्। मदिराको मात्रा बढ्दै जाँदा बोली लरबरिने र शरीरको सन्तुलन गुम्ने समस्या पनि देखिन थाल्छ।

बोली लरबरिनु सधैँ सामान्य नशाको संकेत हुँदैन

मदिरा सेवनपछि बोली लरबरिनुलाई धेरैले सामान्य नशाका रूपमा लिने गर्छन्। तर अत्याधिक बोली लरबरिनु, बोल्न नसक्नु, लगातार बान्ता हुनु, बेहोस हुनु वा श्वासप्रश्वास सुस्त हुनु गम्भीर स्वास्थ्य समस्याका संकेत हुन सक्छन्।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले अत्यधिक मदिरा सेवनबाट हुने विषाक्तताका लक्षणमा बोली अस्पष्ट हुनु, शरीरको सन्तुलन गुम्नु, चेतना कमजोर हुनु, बान्ता हुनु र श्वासप्रश्वासमा समस्या आउनुलाई समावेश गरेको छ। यस्तो अवस्था देखिएमा तत्काल अस्पताल पुर्‍याउनुपर्ने चिकित्सकीय सुझाव छ।

अर्कोतर्फ, मदिरा सेवन नगरेको अवस्थामा पनि अचानक बोली लरबरिनु मस्तिष्कघातको संकेत हुन सक्छ। अनुहारको एक भाग बाङ्गिनु, हातखुट्टाको एक भाग कमजोर हुनु र अचानक बोल्न कठिन हुनु मस्तिष्कघातका प्रमुख लक्षण हुन्। यस्तो अवस्थामा नशा लागेको अनुमान गरेर बस्नु हुँदैन।

जिब्रोभन्दा पहिले मस्तिष्कको नियन्त्रण क्षमतामा असर

मदिरा सेवनपछि बोली लरबरिनुको कारण जिब्रो कमजोर हुनु मात्र होइन। मस्तिष्कले शब्द सोच्ने, निर्देशन दिने र मुखका मांसपेशीलाई समन्वय गर्ने प्रक्रियामा अवरोध आउनु यसको प्रमुख कारण हो।

वैज्ञानिक अनुसन्धानले मदिराले बोलीको गति, शब्द उच्चारण र आवाज उत्पादन गर्ने प्रक्रियामा परिवर्तन ल्याउने देखाएका छन्। त्यसैले मदिरा सेवनपछि बोली लरबरिनुलाई सामान्य रमाइलो वा हाँसोको विषयका रूपमा मात्र लिनु उचित हुँदैन। यो मस्तिष्क र स्नायु प्रणालीमा मदिराको प्रभाव देखिन थालेको एउटा संकेत हो।