• २०८३ मंसिर १
  • 2026 November 17, Tuesday

हिउँदमा भारतबाट ३५० मेगावाट बिजुली आयात र ५६ मेगावाट निर्यातको अनुमति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा विद्युत् माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न भारतबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्ने अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी मूल्यमा दैनिक १७ घण्टासम्म विद्युत् खरिद गर्न स्वीकृति दिएको हो ।

प्राधिकरणले २०८३ मंसिर १ देखि २०८४ साउन १५ गतेसम्म उक्त अनुमति प्रयोग गर्न सक्नेछ । यस अवधिमा बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म भने आईएक्समार्फत विद्युत् आयात गर्न पाइने छैन ।

स्वीकृत व्यवस्थाअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनबाट थप ५० मेगावाट बिजुली ल्याउन सकिनेछ । यसरी चारवटा प्रसारण लाइनमार्फत कुल ३५० मेगावाट विद्युत् आयातको बाटो खुलेको हो ।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजना र प्रसारण संरचनामा क्षति पुगेपछि ४३१ मेगावाट जडित क्षमताका आयोजनाहरू राष्ट्रिय विद्युत् प्रणालीबाट बाहिरिएका छन् । यस्तो अवस्थामा बिजुलीको माग धान्न चूनौतिपूर्ण छ।

गत वर्षको विद्युत् खपत र उत्पादनको अवस्थालाई आधार बनाएर गरिएको प्राधिकरणको आकलन अनुसार यस वर्ष पुसदेखि चैतसम्म चार महिनाको अवधिमा आन्तरिक उत्पादनले माग धान्न कठिन हुनेछ । विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाट विद्युत् भारतबाट निरन्तर खरिद गर्नुपर्ने अनुमान गरिएको छ । विद्युत्को उच्च माग हुने समयमा भने आयातको परिमाण दैनिक ८०० देखि ९०० मेगावाटसम्म पुग्न सक्ने देखिएको छ ।

पुस र चैतमा तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने प्राधिकरणको अनुमान छ । वैशाखदेखि नदीहरूमा पानीको बहाव बढ्न थालेपछि जलविद्युत् उत्पादन पनि विस्तारै बढ्ने र भारतबाट हुने आयात घट्दै जाने अपेक्षा गरिएको छ । आन्तरिक उत्पादनले मागभन्दा बढी विद्युत् उपलब्ध गराउन थालेपछि पुनः निर्यात सुरु हुने प्राधिकरणको आकलन छ ।

यसैबीच, प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति प्राप्त गरेको छ । उक्त विद्युत् पनि मंसिर १ देखि २०८४ साउन १५ गतेसम्म निर्यात गर्न सकिनेछ । यसले हिउँदमा भारतबाट बिजुली ल्याउने र उत्पादन बढेको समयमा भारतमै बिक्री गर्ने दुवै व्यवस्था कायम रहने देखाएको छ ।