• २०८३ मंसिर ५
  • 2026 November 21, Saturday

प्रधानमन्त्रीको भारत भ्रमण : कांग्रेसको शुभकामना, परामर्श नगरेकोमा असन्तुष्टि

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफल बनाउन शुभकामना दिँदै नेपाली कांग्रेसले राष्ट्रिय महत्त्वको भ्रमणअघि प्रमुख प्रतिपक्षसहित राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको भारत भ्रमण नेपालको राष्ट्रिय हितमा उपयोग हुनुपर्ने बताएका छन् । उनले दुई मित्रराष्ट्रबीचको सम्बन्ध थप सुदृढ बनाउँदै नेपालको हितका विषयमा ठोस उपलब्धि हासिल गर्न भ्रमण सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

कांग्रेसले भारतसँगको सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरेको जनाएको छ । यसका लागि गत बुधबार विषयविज्ञहरूको सहभागितामा विशेष आन्तरिक विमर्शसमेत गरेको थियो । जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती नागरिकका सरोकार र भारतमा कार्यरत नेपाली श्रमिकका समस्या छलफलका विषय थिए ।

तर, सरकारले प्रमुख प्रतिपक्ष, अन्य राजनीतिक दल र विषयविज्ञसँग परामर्श गर्न आवश्यक नठानेको कांग्रेसको आरोप छ । राष्ट्रिय महत्त्वका भ्रमणअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको भन्दै कांग्रेसले सरकारबाट सुझाव नमागिएकाले औपचारिक सुझाव अघि नसारेको जनाएको छ ।

सरकारसँग विभिन्न विषयमा असहमति भए पनि राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता स्पष्ट रहेको कांग्रेसले जनाएको छ । भ्रमण क्षणिक लोकप्रियता वा प्रचारमा सीमित नभई विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको समाधान र दीर्घकालीन सहकार्यको आधार निर्माणमा केन्द्रित हुनुपर्ने कांग्रेसको अपेक्षा छ ।

कांग्रेसले भ्रमणको सफलता औपचारिक स्वागत, संयुक्त वक्तव्य र घोषणाभन्दा नेपाल तथा नेपाली नागरिकले प्राप्त गर्ने ठोस उपलब्धिका आधारमा मूल्याङ्कन हुनुपर्ने स्पष्ट पारेको छ ।

कांग्रेसले उठाएका मुख्य ५ विषय

१- राजनीतिक परामर्शको अभाव: प्रधानमन्त्रीको भारत भ्रमणअघि प्रमुख प्रतिपक्ष, अन्य दल र विषयविज्ञसँग छलफल नगरेको भन्दै सरकारको आलोचना ।

२- राष्ट्रिय हितलाई प्राथमिकता: भ्रमणलाई नेपालको राष्ट्रिय हित र दुई देशबीचको पारस्परिक सम्मान तथा समानतामा आधारित सम्बन्ध सुदृढ गर्ने अवसर बनाउनुपर्ने ।

३- महत्त्वपूर्ण सहकार्यका क्षेत्र: जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन र नेपाली श्रमिकका समस्यालाई प्राथमिकतामा राख्नुपर्ने ।

४- पुराना प्रतिबद्धताको कार्यान्वयन: विगतमा भएका सहमति तथा प्रतिबद्धता कार्यान्वयन गर्दै विद्यमान समस्या समाधान र दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माण गर्नुपर्ने ।

५- ठोस उपलब्धिमा भ्रमणको सफलता: औपचारिक स्वागत र घोषणाभन्दा नेपाली नागरिकले प्राप्त गर्ने प्रत्यक्ष लाभका आधारमा भ्रमणको सफलता निर्धारण हुनुपर्ने ।